तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला उपसचिबमा पराजित तितुङ केन्द्रीय सदस्यमा निर्वाचित

धनकुटा । एमाले धनकुटाको आठौँ अधिवेशनमा उपसचिबमा पराजित मनकुमारी तितुङ तारा एमाले केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । 

बिहीबार सम्पन्न एमालेको ११ औ महाधिवेशनबाट तारा सहित धनकुटाबाट पूर्वमन्त्री राजेन्द्र कुमार राई र तारा तितुङ केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । राईले समावेशी आदिवासी जनजाति तर्फ १ हजार ४ सय २४ र तितुङले समावेशी आदिवासी जनजाति महिला कोटामा १ हजार ६ सय १४ मत प्राप्त गरेका हुन्। करिब डेढ वर्ष अघि २०८१ जेठमा सम्पन्न आठौँ जिल्ला अधिवेशनमा तितुङलाई तुलसी राईले ३९ मतले पराजित गरेकी थिइन् । राईले २ सय ६५ मत ल्याउँदा तितुङले २ सय २६ मत ल्याएकी थिइन् ।

नेकपा एमालेको ११ औँ महाधिवेशनबाट धनकुटाबाट निर्वाचित दुवै जना नेता अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट निर्वाचनमा भाग लिएका थिए । दुवै जना अध्यक्ष ओली पक्षमा भएपनि धनकुटामा पूर्वमन्त्री राईको भिन्दै टिम र तितुङ एमाले कोशी प्रदेश सचिवालय सदस्य इन्द्रमणि पराजुलीको टिममा रहेकी थिइन् । त्यसो त पराजुली पनि ओली पक्षकै नेता हुन् । 

११ औ महाधिवेशनको लागि तितुङ केन्द्रिय समितिको उम्मेदवार बन्ने चर्चासँगै पूर्वमन्त्री राई पक्षले प्रतिनिधि बन्नबाट रोक लगाउँदा विवाद भएको थियो। विवादका बिच राई पक्षले एकलौटी मतदान गरेको भन्दै केन्द्रमा उजुरी परेपछि निर्वाचित २ जनालाई फिर्ता बोलाएर पराजुली पक्षका २ जनालाई प्रतिनिधि बनाइएको थियो। निर्वाचित भएर फिर्ता बोलाइएका २ जना सहित पराजुली र तितुङलाई केन्द्रीय कमिटीले प्रतिनिधिमा मनोनीत गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button