आन्तरिक पर्यटकको रोजाइमा छेडेदह ताल
'सौन्दर्यसँगै संरक्षणको चिन्ता'
बाजुरा। बाजुराको खप्तड छेडेदह गाउँपालिकामा अवस्थित छेडेदह ताल पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ।

‘लभदह’ नामले समेत परिचित यो तालको मनमोहक प्राकृतिक सौन्दर्य, शान्त वातावरण र अलौकिक दृश्यावलोकन गर्न दैनिक रूपमा घुम्न आउनेको सङ्ख्या बढ्दै गएको छ। विशेषगरी युवा पुस्ता तथा जोडीहरूका बीचमा यो ताल लोकप्रिय बन्दै गएको देखिन्छ।

स्थानीय दिनेश बिसीका अनुसार ताल निकै सुन्दर र महत्वपूर्ण भए पनि तालको तल्लो भागतर्फ काटिएको सडकका कारण यसको संरक्षणमा चुनौती थपिएको छ। सडक निर्माणपछि भू–क्षय बढ्नुका साथै तालको प्राकृतिक संरचना र पानीको बहावमा असर परेको उहाँको भनाइ छ। यसले दीर्घकालीन रूपमा ताल सुक्ने वा क्षति पुग्ने जोखिम बढाएको स्थानीयले चिन्ता समेत व्यक्त गरेका छन्।
छेडेदह ताल केवल पर्यटकीय मात्र नभई धार्मिक र प्राकृतिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। ताल वरपरको हरियाली, स्वच्छ हावा र शान्त वातावरणले यहाँ आउने पर्यटकलाई आकर्षित गर्दै आएको छ। संरक्षण र व्यवस्थित पूर्वाधार विकास गर्न सके यस क्षेत्रबाट स्थानीय आर्थिक गतिविधि बढ्नुका साथै पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ। खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावतले छेडेदह ताल संरक्षणका लागि विभिन्न सरोकारवाला निकायसँग पहल र अनुरोध गरिँदै आएको बताउनुभयो। उहाँका अनुसार तालको दीर्घकालीन संरक्षण, सडकको उचित व्यवस्थापन तथा पर्यटकीय पूर्वाधार विकासका लागि संघ, प्रदेश र सम्बन्धित निकायसँग समन्वय आवश्यक रहेको छ।






प्रतिक्रिया राख्नुहोस्