तपाईँ सुन्दै हुनुहुन्छः

रेडपान्डा म्याराथन (महिलातर्फ) खोटाङकी राई विजेता

इलाम । ४४.२ किलोमिटर दूरीको रेडपान्डा म्याराथन (महिलातर्फ) खोटाङकी निर्मला राईले जितेकी छन् । उनले ५ घन्टा ४० मिनेट ३६ सेकेन्डमा इलाम बजारदेखि सन्दकपुर डाँडासम्मको दूरी पार गर्दै प्रथम स्थान हासिल गरिन् ।

विजेतासँगै निर्मलाले नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । सुनसरीकी रोकाया दोस्रो भइन् । उनले ५ घन्टा ४० मिनेट ३९ सेकेन्डमा दूरी पार गर्दै १ लाख रुपैयाँ पुरस्कार हात पारिन् । तेस्रो स्थान हासिल गरेकी कल्पना बुढाले ५ घन्टा ४० मिनेट ५७ सेकेन्डमा दूरी पार गरी ५० हजार रुपैयाँ जितिन् । चौथो बनेकी राज्यलक्ष्मी शाक्यले ५ घन्टा ४४ मिनेट २७ सेकेन्डमा दूरी पूरा गर्दै २० हजार रुपैयाँ प्राप्त गरिन् ।

स्थानीय (इलाम, पाँचथर र ताप्लेजुङ) पुरुषतर्फ पाँचथरका राजन मेन्याङ्बो प्रथम भए । उनले ४ घन्टा ३९ मिनेट १० सेकेन्डमा दूरी पार गरी २५ हजार रुपैयाँ जिते । पाँचथरकै विशाल राई दोस्रो हुँदै २० हजार रुपैयाँ पाए भने इलामका राजेन्द्र लिम्बू ४ घन्टा ४९ मिनेट १८ सेकेन्डमा दूरी पार गरी तेस्रो बन्दै १० हजार रुपैयाँ पुरस्कार पाए । ताप्लेजुङका रमेश लिम्बू चौथो भए । उनले ५ घन्टा ३ मिनेट ५७ सेकेन्डमा दूरी पार गरी ५ हजार रुपैयाँ हात पारे ।

म्याराथन मङ्गलवार बिहान साढे ७ बजे इलाम बजारबाट सुरु भई सन्दकपुर डाँडामा सम्पन्न भएको थियो । समुद्री सतहबाट १,८२० मिटरदेखि ३,६१० मिटर उचाइसम्मको चुनौतीपूर्ण भू–भागमा आयोजना गरिएको म्याराथन विश्वकै दुर्लभ वन्यजन्तु रेडपान्डा तथा जैविक विविधता संरक्षणप्रति जनचेतना फैलाउने उद्देश्यले दीप ज्योति युवा क्लबले आयोजना गरेको हो ।

म्याराथनमा नेपाल र भारतका गरी ६२ पुरुष र ११ महिला धावक सहभागी थिए । पुरुष खुलातर्फ गजेन्द्र राई प्रथम, करण रावल दोस्रो र कर्णवीर रोका तेस्रो भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button