तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्जमा शीतलहरबाट ४२ हजार मानिस प्रभावित हुने, पूर्व तयारी थालियो

नेपालगन्ज । अत्यधिक चिसो बढ्दै गएपछि नेपालगन्जमा शीतलहरको पूर्व तयारी थालिएको छ । नेपालगन्ज शीतलहरको जोखिम क्षेत्र हो । पूर्वानुमान अनुसार नेपालगन्ज उपमहानगरपालिकामा यस वर्ष ८ हजार ५ सय २४ परिवारका ४२ हजार ६ सय २० जना प्रभावित हुने देखिएको छ ।

पूर्व तयारी स्वरूप आज सहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर कार्यक्रम) को प्राविधिक सहयोगमा शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजनालाई अद्यावधिक गर्न विषयगत क्षेत्र (क्लष्टर) बीच छलफल गरिएको छ । नेपालगन्जमा ८ वटा विषयगत क्षेत्र छन् । छलफलका क्रममा खोज, उद्धार, समन्वय तथा सूचना व्यवस्थापन, शिक्षा, खानेपानी तथा सरसफाई स्वच्छता, आवास तथा गैर खाद्य र स्वास्थ्य तथा पोषण क्षेत्रले समूह कार्यमार्फत पृष्ठपोषण प्रदान गरेको आपतकालीन कार्यसंचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो ।

बैठकमा नगर प्रमुख प्रशान्त विष्टले शीतलहरबाट नगरबासीलाई जोगाउन पूर्व तयारी र प्रतिकार्य योजनालाई प्रभावकारी ढंगले कार्यान्वयन गरिने बताउनुभयो । सबैको हातेमालो र समन्वयले विपद विरुद्ध जुध्न सहज हुने उहाँको भनाई छ । त्यसक्रममा प्रमुख प्रशासकीय अधिकृत शर्माले मानवीय सेवामा विषयगत क्षेत्रको अवधारणा तथा युनिसेफका राजु अधिकारीले विपद पूर्व तयारी तथा प्रतिकार्य योजना र विषयगत क्षेत्रका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । नेपालगन्ज उपमहानगरपालिकाको विपद पूर्व तयारी तथा प्रतिकार्य योजना तेस्रो पटक अद्यावधिक गरिएको छ ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी एवम् सिडिएम नेपालको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सुपर कार्यक्रमले विपद पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ । सुपर कार्यक्रमले आवश्यक पृष्ठपोषण र प्राविधिक सहयोगसँगै समन्वय, सहकार्य र सहजीकरणमा टेवा पुगिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button