तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटाबाट प्रतिनिधि सभा निर्वाचनका लागि महामन्त्री थापाको नाम सिफारिस

धनकुटा  । नेपाली कांग्रेस धनकुटाले महामन्त्री गगनकुमार थापालाई उम्मेदवार बन्न धनकुटाबाट सिफारिस गरेको छ । नेपाली कांग्रेस धनकुटाको जिल्ला कार्यसमिति बैठकले थापाको नामलाई प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिफारिस गरेको हो । धनकुटामा प्रतिनिधिसभाका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको छ । 

यसअघिका चुनावमा थापा काठमाडौँ क्षेत्र नं. ४ बाट निर्वाचन लड्दै आउनुभएको छ  । थापाको उम्मेदवारीबारे धनकुटा सिफारिस मात्रै गरेको हो भने अन्तिम निर्णय भने केन्द्रीय समिति गर्ने कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले बताउनुभयो । धनकुटाबाट सूर्यबहादुर थापा र नगेन्द्रप्रसाद रिजाल प्रधानमन्त्री बनिसकेका र वर्तमान प्रधानमन्त्री सुशिला कार्की पनि धनकुटाकै भएका कारण धनकुटाबाट जिताएर प्रधानमन्त्री बनाउन गगन थापाको नाम सिफारिस गरिएको सचिव राईले बताउनुभयो । 

कांग्रेस धनकुटाले पार्टीको सङ्गठन विस्तार र कठिन किल्ला तोड्ने रणनीतिको रुपमा थापाको नाम सिफारिस गरेको बताइएको छ । धनकुटामा यसअघिका प्रतिनिधिसभा निर्वाचनहरूमा नेकपा (एमाले) लगातार जित्दै आएको छ भने २०६४ सालमा माओवादीले जितेको थियो । 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि महामन्त्री थापासहित नेपाली कांग्रेस धनकुटा जिल्ला सभापति दिनेश राई तथा पूर्व सभापतिहरू हरिकुमार राई र मनोहर नारायण श्रेष्ठ नाम सिफारिस गरेको जनाएको छ । जिल्ला सभापति राईको नाम दोस्रो नम्बरमा समावेश गरिएको छ ।

समानुपातिकतर्फ कमोट फाँगो, करुण कटुवाल, टिकादेवी भण्डारी, अम्बिका धमला, सिता प्रधान र मिना राईको नाम सिफारिस गरेको कांग्रेस धनकुटाले जनाएको छ । यस्तै धनकुटा काँग्रेसले राष्ट्रिय सभाका लागि सुनिलबहादुर थापा, आनन्द सन्तोषी राई, अजित नारायण सिंह थापा, लिला सुब्बा र अञ्जना ताम्लीको नाम सिफारिस गरेको छ भने दलिततर्फ रविन्द्र नेपाली, अम्बिका परियार र इन्दु दर्नालको नाम सिफारिस गरेको नेपाली कांग्रेस धनकुटाका सचिव राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button