संघीय संसद् सेवा दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना
काठमाडौँ । संघीय संसद् सेवा दिवस आज विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
संघीय संसद् सचिवालय सिंहदरबारमा आयोजित विशेष समारोहमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा विघटन संसदीय व्यवस्था माथिको प्रहार भएको बताउनुभयो ।

उहाँले २०८१ साल चैत्र १५ गते संसद्माथि हुन लागेको आक्रमण सुरक्षा बलका करण असफल भए पनि गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा संसद् भवनमा आगजनी गरी प्रतिनिधि सभा विघटन गरिनु संसदीय व्यवस्था माथिको प्रहार भएको बताउनुभयो ।
सभामुख घिमिरेले संसद् सरकारको अधिनमा रहने कुनै एउटा निकाय वा शाखा होइन र रहन पनि सक्दैन भन्दै संसद्को स्वायत्ततामा आँच आउने कुनै काम नगर्न सरकारलाई आग्रह गर्नुभयो ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जेनजी आन्दोलनका क्रममा संघीय संसद् भवन र सिंहदरबारको भौतिक संरचनाहरूमा भएको क्षतिका कारण राष्ट्रिय सभाको बैठक बस्न समेत कठिन भइरहेको बताउनुभयो ।
उहाँले कानुन तथा नीति निर्माणसँगै देशमा व्याप्त रुपमा रहेको भ्रष्टाचार न्युनिकरण र जेनजीहरुले उठाएका सुशासनको विषयमा संघीय संसदमा आवद्ध सबै पक्ष एकताबद्ध भएर उभिनुपर्नेमा जोड दिनुभयो ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले गुणस्तरीय कानुन तर्जुमाका लागि संसद् सेवाका कर्मचारीहरूले विज्ञता हासिल गर्न आवश्यक रहेको भन्दै संसद् सेवालाई स्वायत्त बनाउन र संस्थागत तथा नीतिगत सुधारका लागि मन्त्रालय तयार रहेको बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना र राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले कानुन बनाउने सर्वोच्च थलो संसद्लाई जनउत्तरदायी, पारदर्शी र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले कानुन निर्माण संसद्को मुख्य काम भएकाले संघीय संसद् सेवाका कर्मचारीहरूले कुनै पनि राजनीतिक दृष्टिकोणमा नझुकी तटस्थ भएर कानुन निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।
संघीय निजामती सेवा दिवसका अवसरमा संघीय संसद् सेवामा कार्यरत ४ जना उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत गरिएको छ ।
जसमा सर्वोत्कृष्ट संसद् सेवा पुरस्कार एक लाख, उत्कृष्ट संसद् सेवा पुरस्कार ७५ हजार र संसद् सेवा पुरस्कारबाट ५०/५० हजार दुई जनालाई प्रदान गरिएको हो ।
संसदीय अभ्यासलाई थप प्रभावकारी, मर्यादित र व्यावसायिक बनाउन छुट्टै ऐनद्वारा संसद् सेवाको गठन गरिएको स्मरणमा हरेक वर्ष मङ्सिर २८ गते संसद् सेवा दिवस मनाउने गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्