तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा दलहरू उम्मेदवार सिफारिस र चुनाव केन्द्रित कार्यक्रममा व्यस्त

वीरगञ्ज । निर्वाचन सम्पन्न हुन ८२ दिन बाँकी हुँदा पर्सामा नेपाली काँग्रेस, जसपा नेपाल लगायतका राजनीतिक दलहरू उम्मेदवार छनौटमा जुटेका छन् । 

नेपाली काँग्रेस पर्साले जिल्लाका ४ वटै क्षेत्रबाट उम्मेदवार चयन गरी केन्द्रमा सिफारिस गरिसकेको छ भने जसपा नेपालले पनि ४ वटै निर्वाचन क्षेत्रबाट आफ्ना उम्मेद्धवारको चयन गरी केन्द्रलाई सिफारिस गरेको छ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि पर्सा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ पूर्व मन्त्री तथा निवर्तमान सांसद प्रदीप यादवको एकल नाम सिफारिस गरेको छ । जसपाका उपमहासचिवसमेत रहनु भएका यादव २०७४ र २०७९ मा गरी लगातार दुई पटक सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । 

त्यसैगरी सोही क्षेत्रबाट समानुपातिकतर्फ नेक मोहम्मद अन्सारी, उमेशलाल सहनी, पवन पञ्जियार, कुमु मानन्धर र रुबैदा खातुनको नाम सिफारिस भएको छ । यता जसपा नेपालले पर्सा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ प्रेमबाबु पटेलको एकल नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ नागेन्द्र यादव, हरेन्द्र चौरसिया र बैजन्ती मालाको नाम प्रस्ताव गरेको छ । यसैगरी पर्सा क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ जनार्दन प्रसाद यादव र समानुपातिकतर्फ सलमा खातुनको एकल नाम सिफारिस भएको छ । पर्सा क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फ तबरेज अहमद तथा समानुपातिकतर्फ रम्भा यादवको एकल नाम प्रस्ताव गरेको पार्टीका उपमहासचिव यादवले बताउनुभयो । 

यता आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस पर्साले जिल्लाका ४ वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्य तथा समानुपातिक र राष्ट्रिय सभा सदस्यका उम्मेद्धवारहरुको नाम छनौट गरी केन्द्रमा सिफारिस गरेको छ । 

पर्सा क्षेत्र नम्बर १ बाट काँग्रेसले युवा व्यवसायी अनिल रुंगटाको एकल नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ  राजकृष्ण अमात्य , ईश्वरभक्त श्रेष्ठ, किरण सरकार, बुनेल राम, कसीमा खातुन र राष्ट्रिय सभामा शम्भु हजरा, सन्तोष सिंह र अनामिका यादवको नाम सिफारिस गरेको छ । 

यसैगरी नेपाली काँग्रेस क्षेत्र नम्बर २ ले प्रतिनिधि सभा निर्वाचनको उम्मेद्धवारको रुपमा ३ जनालाई सिफारिस गरेको छ । पुर्व मन्त्री अजय चौरसिया, राजेन्द्र बहादुर अमात्य र युवा उम्मेदवार राकेश यादवलाई सिफारिस गरिएको नेपाली काँग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति महमद साहबुद्धिनले जानकारी दिनुभयो । त्यसैगरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको समानुपातिक उम्मेदवारका लागि गम्भीरा साह, राजनाथ ठाकुर, विद्या श्रेष्ठ,रुपा श्रेष्ठ र जुनमाया बलको नाम सिफारिस गरिएको छ भने आसन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि पर्सा क्षेत्र नम्बर २ बाट हिरा साह कानु, सुखल हजरा,प्रेमचन्द्र दुबे र कन्हैयालाल बानियाको नाम सिफारिस गरिएको छ । 

यता काँग्रेसले प्रतिनिधि सभा तर्फ पर्सा क्षेत्र नम्बर ३ बाट पूर्वमन्त्री सुरेन्द्र चौधरी, युवा नेता जनार्दन सिंह क्षेत्री,शम्भु चौहान,असर्फी साह र भगवती चौधरीको नाम सिफारिस गरेको छ भने समानुपातिक तर्फ मुकेश कुर्मी,ध्रुब कुशवाहा र मनोज यादवको नाम सिफारिस गरिएको नेपाली काँग्रेस पर्सा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति श्रीकिसुन चौहानले जानकारी दिनुभयो । त्यसैगरी सो क्षेत्रबाट राष्ट्रिय सभाका उम्मेदवारका लागि ललन द्विवेदी र सिन्धु मेहताको नाम सिफारिस भएको छ ।  

पर्साको क्षेत्र नम्बर ४ को निर्वाचन क्षेत्रबाट पूर्वमन्त्री तथा निवर्तमान सांसद रमेश रिजालको एकल नाम सिफारिस भएको छ । 

निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरूले चुनावलाई लक्षित गर्दै आ आफ्ना पार्टीका गतिविधि अगाडी बढाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button