तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा यस वर्ष धान उत्पादन १३ प्रतिशतले घट्यो

वीरगञ्ज। पर्सा जिल्लामा यस वर्ष धानको उत्पादन १३ प्रतिशतले घटेको छ । 

असार साउनमा परेको खडेरी कार्तिकको बेमौसमी वर्षाले धानबालि डुवान, ढिलो गरी धानबाली लगाउनु, औसतभन्दा कम वर्षा हुनु, धानबालीमा गवाँरो कीराको सङ्क्रमण हुनु लगायत कारणले गत वर्षको तुलनामा यस वर्ष उत्पादनमा ह्रास आएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ । 

पर्सामा कूल धान रोपाइँ हुने खेतीयोग्य जग्गामध्ये आव २०८२/८३ मा ९७ प्रतिशत अर्थात् ४७ हजार १ सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र पर्साका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत उमेश थापाले जानकारी दिनुभयो । 

पर्सामा  प्रतिहेक्टर ३.दशमलव ६७ मेट्रिक टनका दरले ४७ हजार १ सय ३० हेक्टरमा लगाइएको धान बालीबाट १ लाख ७२ हजार ९ सय ६७ मेट्रिक टन धान उत्पादन भएको थापाले बताउनुभयो । 

गत आर्थिक वर्ष २०८१/८२ मा ४५ हजार चार सय ६० हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकोमा प्रतिहेक्टर चार दशमलव दुई मेट्रिक टनका दरले १ लाख ९७ हजार ९ सय ४६ मेट्रिक टन धान उत्पादन भएको थियो । 

पर्सामा ५४ हजार सात सय ३२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४७ हजार एक सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको थापाले बताउनुभयो । 

पर्सा जिल्लामा भदैया, चैते र वर्षे गरी तीन किसिमका धान उत्पादन हुँदै आएका छन् । 

धान रोपाइँ समयमा नहुनु, वर्षा नहुनु, सिँचाइ तथा मल अभाव, रोगको सङ्क्रमणलगायत कारणले उत्पादन घटेको प्रमुख थापाले जानकारी दिनुभयो । 

गत वर्षको तुलनामा यसबर्ष २४ हजार ९ सय ७९ मेट्रिक टन धान उत्पादनमा कमी आएको र १२ दशमलव ६१ प्रतिशत उत्पादन घटेको कृषि ज्ञान केन्द्र पर्साको तथ्याङ्कमा उल्लेख छ । 

यसबर्ष पर्सासँगै मधेस प्रदेशका आठ वटै जिल्लामा धान खेती प्रभावित भएको छ । विगतका बर्सहरूमा समयमा मल, बीउ बिजन र कीटनाशक औषधि नपाएर धानलगायतका बाली प्रभावित हुँदै आए पनि यस पटक असोज र कात्तिकमा परेको बेमौषमि वर्षा तथा असार साउनको खडेरीले धान खेती प्रभावित भएको किसानहरूले बताएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button