मधेश प्रदेशका बालबालिकाको समग्र अवस्था अन्य प्रदेश भन्दा कमजोर
जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा अन्य प्रदेशको तुलनामा बालबालिकाको सङ्ख्या बढी रहे पनि उनीहरूको शिक्षा, स्वास्थ्य तथा अन्य अवस्थाहरू कमजोर रहेकोमा एक कार्यक्रममा सहभागीहरूले चिन्ता व्यक्त गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय वाल अधिकार परिषद्को आयोजना तथा एकीकृत हातेमालो समाजको सहकार्यमा आज जनकपुरधाममा सम्पन्न “मधेश प्रदेशमा बालबालिकाको वर्तमान र राज्यको दायित्व” विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सो कुराप्रति चिन्ता व्यक्त गर्नुभएको हो ।
देशमा १८ वर्ष मुनिका ९८ लाख ९९ हजार ५ सय ८३ बालबालिका रहेकोमा मधेश प्रदेशमा मात्र २४.३३ प्रतिशत अर्थात् २४ लाख १ हजार ८ सय ६१ बालबालिकाहरू रहेको राष्ट्रिय बालअधिकार परिषद्का सूचना अधिकारी एवं अधिकृत रामबहादुर चन्दले जानकारी दिनुभयो ।
मधेश प्रदेशमा बालबालिकाको अवस्थामा सुधार गर्न स्थानीय तहमा बालअधिकार समितिको गठन कम सङ्ख्यामा भएको पाइएको छ । मधेशको ६९ स्थानीय तहमा समिति गठन भएको छ । राष्ट्रिय तहमा ४९० तहमा बालकल्याण अधिकारी नियुक्त भएको देखिए पनि मधेशमा ९९ मा मात्र रहेका छन् ।
यसै गरि राष्ट्रिय स्तरमा ३१० तहमा स्थानीय बालकोष स्थापना भए पनि मधेशमा २३ स्थानीय तहमा मात्र स्थापना भएको पाइएको छ । बालअधिकार सम्बन्धि एकीकृत कार्यविधि राष्ट्रिय स्तरमा ४४२ स्थानीय तहमा भए पनि मधेशमा ७० मा मात्र कार्यविधि रहेको मधेश प्रदेशका बाल संरक्षण अधिकृत सञ्जीव महतोले जानकारी दिनुभयो ।
कार्यक्रममा मधेश प्रदेशका गाउँपालिका तथा नगरपालिका महासङ्घका पदाधिकारीहरू, विभिन्न पालिकाका उपप्रमुखहरू तथा बालबालिकाका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्