निर्वाचनमा महिला सहभागिता बढाउनुपर्नेमा सरोकारवालाहरूको जोड
काठमाडौँ । आगामी निर्वाचनमा महिला सहभागिता बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिनुभएको छ ।
नेपाल प्रेस युनियन महिला विभागले आज काठमाडौँमा आयोजना गरेको राजनीतिमा लैङ्गिक विभेद र अबको निर्वाचनमा महिला सहभागिता विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले राज्यका हरेक तहमा महिलाको समान सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।

नेपालको संविधानले सुनिश्चित गरेका महिलाका हक अधिकार कार्यान्वयन गर्न सकारात्मक प्रयास गर्नुपर्ने र महिला सहभागिता बढाउनका लागि समाजमा चेतना, जागरण र शिक्षाको आवश्यकता रहेको उहाँहरूले औँल्याउनुभयो ।
निर्वाचन प्रणाली महँगो र खर्चिलो भएकाले महिलाहरू निर्वाचनमा जान डराउने अवस्था आएको उल्लेख गर्दै निर्वाचन प्रणालीलाई सस्तो र सहज बनाइने हो भने प्रत्यक्ष निर्वाचनमा महिला सहभागिता वृद्धि गर्न सकिने सरोकारवालाहरुले बताउनुभयो ।
प्राध्यापक तथा राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले राज्यका सबै निकायमा महिला सहभागिताको वृद्धिसँगै नीति निर्णयको तहमा नै महिलाको जिम्मेवारी र भूमिका बढाउनुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष विपुल पोखरेलले महिला सहभागिता बढाउनका लागि सबैभन्दा पहिले महिलाका मुद्दा सामाजिकीकरण गर्नुपर्ने बताउनुभयो ।
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले महिलाका मुद्दा अगाडी बढाउने विषयमा नेपाल प्रेस युनियनले भूमिका खेल्दै आएको र सहयोगका लागि सधैँ तयार रहेको बताउनुभयो ।
नेपाल प्रेस युनियन महिला विभागका अध्यक्ष सलोजा दाहालले पछिल्लो समय राज्यका विभिन्न निकायहरूमा महिलाहरूको सङ्ख्या बढेजस्तै राजनीतिमा पनि महिला सहभागिता बढाउने गरी काम गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा पत्रकार कृष्णा पौडेलले राजनीतिमा लैङ्गिक विभेद र अबको निर्वाचनमा महिला सहभागिता विषयको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्