तपाईँ सुन्दै हुनुहुन्छः

१७४ जना नयाँ कुष्ठरोगी फेला

नेपालगञ्ज। बाँकेको साइनिङ अस्पतालमा एक वर्षमा १७४ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । आईएनएफ नेपाल बाँकेद्वारा जानकी ३ मा सञ्चालित साइनिङ अस्पतालमा आर्थिक बर्ष २०८१/८२ मा उपचारका लागि आएका बिरामी मध्ये १७४ जना नयाँ कुष्ठरोगी निदान भई उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा रिफर गरिएको अस्पतालका प्रमुख मंगल बहादुर थारुले बताउनुभयो । 

नेपालगञ्जमा आज आयोजित सामाजिक परीक्षण तथा जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा सारांश प्रतिवेदन प्रस्तुत गर्दै थारुले उक्त तथ्याङ्क सार्वजनिक गर्नुभएको हो । नयाँ कुष्ठरोगी मध्ये बाँकेका ७१ जना, बर्दिया ४२, भारतका ३०, सुर्खेत ५, दैलेख ३, जाजरकोट ४, दाङ ५, सल्यान २, प्युठान २, रुकुम ३ र सुदूरपश्चिम प्रदेशका ६ जना रहेका छन् । यी मध्ये ४५ प्रतिशतमा कुष्ठरोगको किटाणु पोजिटिभ देखिएको थियो । साइनिङ अस्पताल पश्चिम क्षेत्रमा कुष्ठरोगको निदान र उपचारका लागि रेफरल सेन्टरको रुपमा विकास भएको छ । 

अस्पतालले बहिरङ्ग सेवामार्फत १८ हजार ९ सय ८ जनालाई सेवा प्रदान गरेको जनाएको छ । जसमा कुष्ठरोग सम्बन्धि समस्या लिएर आएका २ हजार ७ सय ८४ तथा छालाजन्य समस्या भएका १६ हजार १ सय २४ जना थिए । अन्तरङ्ग तर्फ १६४ जना बिरामीलाई भर्ना गरेर उपचार गरिएको अस्पताल प्रमुख थारुले बताउनुभयो । साइनिङ अस्पाललले वार्षिक रुपमा अपाङ्गता रोकथाम तथा उपचार, कुष्ठरोग सम्पर्क परीक्षण, समुदाय स्तरमा छाला तथा कुष्ठरोग पहिचान शिविर, स्वास्थ्यकर्मीका लागि क्षमता अभिवृद्धि तालिम, समुदायस्तरमा कुष्ठरोग सचेतना कार्यक्रम, निःशुल्क उपचार सेवा लगायतका गतिविधिहरू सञ्चालन गरिरहेको जनाएको छ । 

यस्तै कुष्ठरोगमा अनुसन्धान कार्य पनि गरिरहेको छ । गत बर्ष मात्रै दुई वटा अनुसन्धान कार्य सम्पन्न गरिएको थारुले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति बाँके प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, उपप्रमुख सिता कार्की, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक, जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक रविन्द्र कुमार शाह लगायतले साइनिंग अस्पतालले कुष्ठरोग एवम् छालाजन्य रोगहरूको निदान र उपचारसँगै सचेतना प्रबद्र्धनमा महत्वपूर्ण भूमिका निभाइरहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button