तपाईँ सुन्दै हुनुहुन्छः

जेनजी आन्दोलनमा क्षतिग्रस्त सरकारी भवनको पुनर्निर्माण तीव्र: अर्थमन्त्री खनाल

धनगढी।अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी कार्यालयको पुनर्निर्माण काम अघि बढिरहेको बताउनुभएको छ ।

आज धनगढी स्थित क्षतिग्रस्त मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्थलगत निरीक्षण गर्नुहुँदै मन्त्रीले खनालले क्षतिग्रस्त सरकारी कार्यालयको पहिलो चरणको पुनर्निर्माणका लागि बजेट निकासा भइसकेको बताउनुभयो ।

मन्त्री खनालले जेनजी आन्दोलनका क्रममा करिब ८० अर्ब बराबरको सरकारी संरचनामा क्षति पुगेको उल्लेख गर्नुहुँदै आगामी तीन वर्ष भित्र क्षतिग्रस्त कार्यालयको पुनर्निर्माण गरिसक्ने सरकारी योजना रहेको बताउनु भयो । उहाँले प्रदेश सरकार मातहतका क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि आवश्यक परेमा सङ्घीय सरकारले बजेटको व्यवस्था गर्ने बताउनुभयो । उहाँले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको उच्च स्तरीय छानबिन समितिले काम गरिरहेको बताउनु भयो ।

मन्त्री खनालले सुशासन कायम,आर्थिक समृद्धि तथा निर्वाचनलाई स्वच्छ,निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्ने कार्यमा सरकार केन्द्रित रहेको बताउनुभयो ।

आजै मन्त्री खनाल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहबिच भेटवार्ता भएको छ । त्यस क्रममा प्रदेशको विकास, बजेट लगायतका विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । यस अघि मन्त्री खनालले आन्तरिक राजस्व कार्यालय धनगढीको निरीक्षण गर्नुभयो ।

अर्थमन्त्री खनालले आजै धनगढीमा सुदूरपश्चिम महोत्सव २०८२ को उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button