नेपालगन्ज भन्सारमा मूल्याङ्कन डाटाबेस प्रणाली सञ्चालन

नेपालगन्ज । अर्थमन्त्री रामेश्वर खनालले मूल्याङ्कन डाटाबेस प्रणाली सञ्चालन गरिएपछि अवाञ्छित क्रियाकलाप रोकिने बताउनुभएको छ ।
आइसिपी नेपालगन्जमा आज मूल्याङ्कन डाटाबेस प्रणालीको शुभारम्भ गर्दै उहाँले विराटनगर, बिरगन्ज र भैरहवा भन्सारपछि नेपालगन्जमा यो प्रणाली लागू गरिएको बताउनुभयो ।
उहाँले यसले व्यवसायको लागत घटाउनुका साथै पारदर्शी समेत गराउने बताउनुभयो । मन्त्री खनालले यो प्रणालीपछि अन्तर्राष्ट्रिय अभ्यासबाट विमुख नहुने बताउनुभयो । उहाँले अब ७५३ वटै स्थानीय तहबाट करदाता सेवा सुरु गर्न लागिएको जानकारी समेत दिनुभयो ।
भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारी, राजश्वका सचिव भुपाल बराल, एडिबीका परामर्शदाता निर्मल हरि अधिकारीले यो प्रणालीपछि मूल्याङ्कन प्रक्रिया छिटो हुने र भन्सार मूल्याङ्कनमा एकरूपता आउने बताउनुभयो ।
अर्थमन्त्री खनालले आजै कोहलपुरमा रहेको राजश्व कार्यालय, नेपालगन्जको आन्तरिक राजश्व, कोलेनिकाको अनुगमन गर्नुका साथै नेपालगन्ज उद्योग बाणिज्य सङ्घमा पुगेर व्यापारीसँग अन्तरक्रिया समेत गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्