कञ्चनजङ्घा सेसेलुङ महिला गोल्ड कपको उपाधि फुङलिङलाई
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ्मा सम्पन्न कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकपको उपाधि फुङलिङ नगरपालिकाले उचालेको छ । शनिबार सम्पन्न फाइनल खेलमा मेरिङदेन गाउँपालिकालाई ट्राई बेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै फुङलिङले उपाधि उचालेको हो ।

निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेसँगै खेलको नतिजा ट्राइबेकर मार्फत लिइएको हो । खेलको १३ औँ मिनेटमा घिनकुमारी गुरुङले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो । तर खेलको ७५ औँ मिनेटमा मेरिङ्देनको तर्फबाट सुस्मा लिम्बूले गोल गर्दै खेललाई बराबरीमा फर्काउनुभएको थियो ।
फुङलिङले मैवाखोलालाई २–० र मेरिङदेनले पाथीभरा याङवरकलाई ५–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए । प्रतियोगिताको विजेता फुङलिङले नगद दुई लाख दुई हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । त्यस्तै उपविजेतामा सीमित बनेको मेरिङदेन गाउँपालिकाले नगद एक लाख दुई हजार ८२ रुपियाँमा चित्त बुझाएका छन् ।
पुरस्कार कोशी प्रदेश सरकार उद्योग, कृषि, तथा सहकारी मन्त्री खगेनसिँह हाङ्गामले हस्तान्तरण गर्नुभएको छ ।
लिम्बू समुदायको चासोक तङ्नामको अवसरमा गत मङ्सिर १३ गतेबाट फुङलिङको भानुजन माविको खेलमैदानमा सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो । प्रतियोगितामा जिल्लाका मिक्वाखोला गाउँपालिका बाहेक अन्य आठ ओटा पालिकाको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्