तपाईँ सुन्दै हुनुहुन्छः

आठौँ मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि काभ्रेका खरेलले जिते

नेपालगञ्ज । आठौँ मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि काभ्रेका अच्युत कृष्ण खरेलले जितेका छन् । उनले एमटिबी पुरुष ३६ किलोमिटर साइकल दौड १ घण्टा २ मिनेट ४० सेकेण्डमा पूरा गर्दै उपाधिसहित नगद रु। २५ हजार हात पारेका छन् । 

खरेललाई पछ्याएका नेपाल आर्मीका मुकेश थारुले १ घण्टा २ मिनेट ५७ सेकेण्डमा निर्धारित दुरी पूरा गर्दै दोस्रो स्थान हासिल गरे । मुकेशले रु. १५ हजारमा चित्त बुझाउनुपरेको छ । यस्तै यो विधामा बाँकेका देब बोहोराले तेस्रो हुँदै १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । 

यसैगरी एमटिबी भेट्रान २५ किमीतर्फ बाँकेका दिपक मल्ल प्रथम, अशोक दीक्षित द्वितीय र थोमेश बहादुर बोहरा तृतीय भएका छन् । मल्ल, दीक्षित र बोहराले क्रमशः १५ हजार, १० हजार र ७ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । 

यस्तै एमटिबी महिला १६ किलोमिटरमा बाँकेका एसी श्रेष्ठ र सिता कार्की प्रथम र द्वितीय हुँदा बर्दियाकी निशा थारु तृतीय भएका छन् । श्रेष्ठ, कार्की र थारुले क्रमशः २० हजार, १० हजार र ७ हजार पुरस्कार प्राप्त गरे । 

यसैगरी साधारण साइकल पुरुष २५ किमीतर्फ बाँकेका विनोद यादव प्रथम, जुगल थारु द्वितीय र लिखन प्रसाद थारु तृतीय हुँदा उनीहरूले क्रमशः १० हजार, ७ हजार र ५ हजार पुरस्कार जिते । साधारण साइकल महिला १६ किमीतर्फ पनि सुमन बर्मा, समिता थारु र मिना कुमारी थारु तृतीय हुँदा उनीहरूले क्रमशः १० हजार, ७ हजार र ५ हजार पुरस्कार हात पारेका छन् । 

नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा नेपालगञ्ज साइक्लिङ क्लबले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका कार्यबहाक नगर प्रमुख कमरुद्दिन राईले गर्नुभएको थियो । उद्घाटन समारोहमा बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, नेपालगञ्ज १२ का वडा अध्यक्ष तरुण बज्राचार्य, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी लगायतको उपस्थिति थियो । 

प्रतियोगिताका संयोजक एवम् नेपालगञ्ज साइक्लिङ क्लबका उपाध्यक्ष ओबिराम बुढाथोकीले स्वागत गर्नुभएको कार्यक्रममा क्लबका अध्यक्ष प्रदीप सापकोटाले साइकल खेल र साइकल संस्कृतिको विकास गर्न आठ वर्षदेखि निरन्तर प्रतियोगिता गर्दै आएको बताउनुभयो ।

प्रतियोगिता नेपालगञ्ज विपी चोकबाट शनिबार बिहान सुरु भएको थियो । प्रतियोगिताको रुट नेपालगञ्ज विपी चोकबाट धम्बोजी, राँझा, हवलदारपुर, कोहलपुर हुँदै पुनः सोही रुटबाट विपी चोकसम्म कायम गरिएको थियो । विजेता खेलाडीहरूलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button