मुगुमा वैदेशिक रोजगारीको बढ्दो प्रभाव : गाउँ–बस्ती सुनसान, चहलपहल घट्दै
मुगु । पछिल्लो केही वर्षयता जिल्लाका अधिकांश युवा महिला–पुरुष रोजगार र आम्दानीको खोजीमा भारततर्फ जाने क्रम तीव्र भएको छ। गाउँ–बस्तीमा सक्रिय श्रम शक्ति बाहिरिएपछि स्थानीय बस्तीहरू सुनसानजस्तै हुन थालेका छन् ।

पछिल्ला समयमा जिल्लामा आर्थिक समस्या बढ्दै जाँदा बेरोजगार नागरिकहरू विकल्पको खोजीमा भारत पस्न बाध्य भएका हुन ।
स्थानीय बासिन्दा एवं निवर्तमान वडा अध्यक्ष चक्रबहादुर सावतका अनुसार गाउँघरमा खेतीपाती, गर्दा होस या अन्य सामाजिक गतिविधिमा देखिने चहलपहल अहिले उल्लेखनीय रूपमा घटेको छ। युवा पुस्ताको भारततर्फको आकर्षणले गाउँमा अधिकांश स्कुले बालबालिका र वृद्धवृद्धामात्रै बढी देखिन थालेका छन् ।
मुगुको चार ओटै स्थानीय तहका विभिन्न गाउँ बस्तीहरूको सामुदायिक कामकाजमा समेत असर परेको स्थानीयले बताएका छन्। वैदेशिक रोजगारीबाट आएको आम्दानीले परिवारको खर्च भने धानिए यसले दीर्घकालीन समस्या समाधान नहुने केही स्थानीयको बुझाई छ ।

जिल्लाबाट सक्रिय जनशक्ति बाहिरिए पछि त्यसको प्रत्यक्ष असर व्यापारमा समेत परेको छ। गमगढी बजारमा व्यापार गर्दै आएका व्यापारीहरू समेत व्यापार नचले पछि विस्थापित भएका छन् भने गमगढीका अधिकांश व्यापारिक सटरहरू खाली भएको स्थानीय व्यापारीहरू बत्ताउँछन् ।
स्थानीय सरकार र सरोकारवाला निकायहरूले रोजगारीका अवसर गाउँमै सिर्जना गर्नुपर्ने माग बढ्दो छ । सीपमूलक तालिम र कृषिमा प्रोत्साहनको अभावले युवा बाहिरिने क्रम झनै बढेको स्थानीय बासिन्दाले बताएका छन् ।

सरकारले स्थानीय अर्थतन्त्र मजबुत पार्ने तथा गाउँमै रोजगारी सिर्जना गर्ने दीर्घकालीन नीति नअपनाए मुगुका गाउँ–टोल अझ सुनसान बन्दै जाने चिन्ता स्थानीयले व्यक्त गरेका छन्।
बर्ष भरी गरिएको खेतीले बारै महिना नपुग्ने भएपछि दुर्गमका जनताहरूमा आर्थिक अभावले हातमुख जोर्न र बाल बच्चालाई स्कुल पढाउन , स्वास्थ्य उपचारका साथै भैपरी आउने समस्या टार्न लागि आर्थिक जोहो गर्न भारत पस्ने दर पछिल्ला केही वर्षहरूमा ह्वात्तै बढेको छ ।








प्रतिक्रिया राख्नुहोस्