रोहिंग्या शरणार्थीका कारण नेपाल–भारतको सीमा नाकामा कडाइ

जनकपुरधाम । भारतमा बस्दै आएका रोहिंग्या शरणार्थीहरू खुल्ला सीमा नाकाको फाइदा उठाउँदै नेपाल प्रवेश गर्न थालेपछि मधेस प्रदेशका सीमा नाकाहरूमा कडाइ गरिइएको छ ।
गृह मन्त्रालयले भारतसँग सीमा नाका जोडिएका सबै जिल्ला प्रशासन कार्यालयहरूमा पत्राचार गरेपछि मधेस प्रदेशका सीमा नाकाहरूमा कडाइ गरिएको हो ।
मधेस प्रदेशका ८ जिल्लाहरूमा शङ्कास्पद व्यक्तिहरूलाई रोकेर सोधपुछ गरेर मात्र नेपाल छिर्न दिइएको छ ।
बङ्गलादेशी रोहिंग्याहरुको अनुहार मधेस प्रदेशका केही जातिसँग मिल्दोजुल्दो भएकाले खुल्ला सीमा नाकाको फाइदा उठाएर प्रवेशको खतरा रहेकाले विशेष सुरक्षा सतर्कता अपनाइएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले जिल्ला सुरक्षा समितिको निर्णयपछि सीमा नाकामा सुरक्षा निगरानी बढाइएको बताउनुभयो ।
उहाँले सीमा नाका तीनै तहका सुरक्षा निकाय परिचालन गरेर उनीहरूको अवैध प्रवेश हुन नदिनका लागि कडाइ गरिएको बताउनुभयो ।
जेन्जी पुस्ताको आन्दोलनको क्रममा केही रोहिंग्याहरुको घुसपैठ आन्दोलनमा देखिनुका साथै लुटपातमा संलग्न रहेको पाइएपछि त्यसप्रति सुरक्षा चासो बढेको छ । भारतमा हजारौँको सङ्ख्यामा रोहिंग्याहरु हुने अनुमान गरिइएको छ ।







प्रतिक्रिया राख्नुहोस्