तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा क्यान इन्फोटेक–२०८२ सुरु

पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला तथा क्यान इन्फोटेक–२०८२ सुरु भएको छ । 

पोखराको प्रदर्शनी केन्द्रमा यही मङ्सिर २१ गतेसम्म सञ्चालन हुने उक्त मेलाको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार उद्घाटन गर्दै जेनजी आन्दोलनमा नीजि क्षेत्रमा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न माग गर्नुभयो ।

नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) का अध्यक्ष समेत रहनुभएको अध्यक्ष ढकालले “यहाँ केही हुँदैन” भन्ने नकारात्मक भाष्य फैलिएकाले त्यसलाई चिर्न निजी क्षेत्र आफैँ अग्रसर भएको उल्लेख गर्दै उहाँले आफ्नो नेतृत्व कालमै महासङ्घको विधान संशोधन र दीर्घकालीन योजनाहरू अघि बढाइएको बताउनुभयो ।

ढकालका अनुसार निजी क्षेत्रको पहलमा १० अर्ब रुपैयाँ पुँजीबाट एनडीपीको स्थापना गरिएको र यसले ४०–५० अर्ब रुपैयाँसम्मका ठूला परियोजना अघि बढाउन सक्ने क्षमता रहेको दाबी गर्नुभयो । उद्यमशीलता विकास, लगानी व्यवस्थापन तथा लघु बचतकर्तादेखि ठूला लगानीकर्तासम्मलाई अवसर उपलब्ध गराउने लक्ष्य रहेको उहाँको भनाइ थियो ।

महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले देशमा १२५ भन्दा बढी दल दर्ता भइरहनुले आगामी दिनमा फेरि अस्थिरता बढ्ने सङ्केत देखिएको बताउँदै यसले निजी क्षेत्र ढुक्कले लगानी गर्न नपाउने अवस्था सिर्जना हुन सक्ने आशङ्का गर्नुभयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा देखिएका अनियमिततामा संलग्नलाई कारबाही गर्नुपर्ने माग पनि उहाँले गर्नुभयो ।

संघका अध्यक्ष तथा मेला संयोजक गोकर्ण कार्कीका अनुसार यस वर्ष ७८ डोम तर्फका स्टल सहित १ सय २२ स्टल रहेका छन् । प्रवेश निःशुल्क रहेको मेलाबाट झण्डै ५० लाख आम्दानी र ४५ लाख खर्च हुने अनुमान गरिएको महासचिव शोभा गौतमले जानकारी दिनुभयो । सङ्घले करिब ५ लाख बचत गर्ने लक्ष्य राखेको छ । क्यान कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले मेलालाई समय सान्दर्भिक बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button