मधुगंगामा धान्य पूर्णिमाको अवसरमा धार्मिक मेला
धनकुटा । धनकुटा सदरमुकामबाट करिब ८ किलोमिटर पूर्वमा रहेको धार्मिक तथा पर्यटकीयस्थल मधुगंगा महादेवस्थानमा धान्य पूर्णिमा तथा उधौली पर्वको अवसरमा धार्मिक लागेको छ ।

धनकुटा नगरपालिका वडा नं. २ भीरगाँउमा मधुगंगा मन्दिरमा हरेक वर्ष धान्य पूर्णिमाको अवसरमा ५ दिन मेला लाग्ने गर्दछ । मेला भर्न धनकुटा, तेह्रथुम, भोजपुर, सङ्खुवासभा, सुनसरी, मोरङ, झापा, सिराहा, सप्तरी लगायत पूर्वका अधिकांश जिल्लाबाट सहित धनुषा, महोत्तरी लगायतका देशका अन्य जिल्लाबाट सर्वसाधारण आउने गर्दछन् । मधुगंगा धामको झरनामा नुहाउने र गुफाभित्र रहेको महादेवथानमा पूजा गर्न हजारौँ भक्तजनको घुइँचो लागेको हो ।
यो मन्दिर मधु खोलाको ६० फिट अग्लो झरनाको सँगै रहेको करिब ६० फिट लामो प्राकृतिक गुफा भित्र अवस्थित छ र गुफाको अन्तमा रहेको शिवलिङ्गलाई महादेवको प्रतीक मानी पूजा गर्ने गरिन्छ । गुफाभित्र अँध्यारो भएको कारणले प्रवेश गर्दा बत्ती लिएर मात्र जान सकिन्छ । यसैको छेउमा लिङ्गेश्वरी देवीको स्थापना गरी ढोका लगाइ राखिएको छ । मेला लागेको बेला मन्दिरमा भाकल पूरा गर्ने र त्यसो गरेमा मनोकामना पूरा हुने विश्वास रहेको छ ।
गत आर्थिक वर्षमा संघीय सरकारको ३ करोड ७० लाखको लागतमा मधुगंगा धाममा पूर्वाधार निर्माण गरिएको छ । धाममा शिव मन्दिर, ढुंगेधारा, व्यापारिक भवन, सडक, शौचालय, सिँढी, पुजारी घर, पुल, गेट, पोखरी लगायतका संरचना निर्माण गरिएको छ । धार्मिक तथा पर्यटकीय रुपमा बिकास गर्न पूर्वाधार निर्माण गरिएको थियो । पूर्वाधार निर्माण अघिसम्म निक्कै जोखिमपूर्ण अवस्थामा रहेको यो स्थान पूर्वाधार निर्माणपछि सहज भएको स्थानीय डम्बर राईको भनाई छ ।
पौराणिक कालमा मधु र गंगा दुईजना आएर महादेवको खोजी गरेपछि प्रकट भएको इतिहास रहेको छ । गुफाभित्रको पत्थरमा शिव लिङ्गको आकृति देख्न सकिन्छ । खोलामा रहेको सो स्थानमा सहजताको लागि धनकुटा नगरपालिकाले १० लाखको लागतमा डिपिआर तयार गरेको थियो । सोही डिपिआर अनुसार पूर्वाधार निर्माणका लागि करिब ६ करोड रुपैयाँ बजेट विनियोजन भएपनि थेगिम सिंह जेबीले ३ करोड ७० लाखमा पूर्वाधार निर्माणको ठेक्का पाएर पूर्वाधार निर्माण गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्