तपाईँ सुन्दै हुनुहुन्छः

गौतमको ‘पाँचकोरी थुँगा’ विमोचन

इलाम । स्वर सम्राट नारायणगोपालको स्मृति दिवसको अवसरमा इलामे सङ्गीत सर्जक देवीप्रसाद गौतमद्वारा सिर्जित ‘पाँचकोरी थुँगा’ गीत–सङ्ग्रहको विमोचन भएको छ । 

इलाम नगरपालिकाको साहित्य कला सङ्गीत प्रतिष्ठान र इलाम साहित्य संस्कृति कला प्रतिष्ठानको संयुक्त आयोजनामा गरिएको उक्त कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव जय नारायण भट्टराईले गर्नुभएको थियो। कार्यक्रममा नारायणगोपाललाई सम्झिँदै उहाँका लोकप्रिय गीतहरू इलामका गायक कोमल निरौला लगायतका स्थानीय कलाकारहरूले प्रस्तुत गरेका थिए। 

‘पाँचकोरी थुँगा’ गौतमको पहिलो गीत–सङ्ग्रह भए पनि उहाँले २०४५ सालमै रेडियो नेपालमा ‘मन रुने सारङ्गी बज्यो’ गीत रेकर्ड गराइसक्नुभएको छ। उहाँका राष्ट्रिय गीत र लोकगीत रेडियो नेपालमा प्रसारण भइसकेका छन्। आधुनिक, लोक धुन, धार्मिक भावना र राष्ट्रिय पहिचानमा आधारित गौतमका गीत–सङ्गीतले नेपाली सङ्गीत क्षेत्रमा छुट्टै प्रभाव पारेको वक्ताहरूले स्मरण गराए।

सङ्ग्रहमा राई समुदायको ‘सकेवा’ र लिम्बू समुदायको ‘केलाङ’ लयसमेत समेटिएको छ, जसले पूर्वी पहाडको सांस्कृतिक विविधता र पहिचानलाई गीतमार्फत समृद्ध बनाउने प्रयासलाई थप सशक्त बनाएको सहभागीहरूको भनाइ थियो। करिब १०० गीत समावेश यस सङ्ग्रहमा प्रेम, प्रकृति, परम्परा, सांस्कृतिक धुन, लोक भाका, राष्ट्रिय भावना तथा जीवनका विविध आयामहरू समेटिएका छन्।

कार्यक्रममा बोल्दै प्रख्यात इलामका इतिहासविद् जुद्धप्रसाद वैद्यले यो गीत–सङ्ग्रहले इलामको इतिहासमा नयाँ इट्टा थपेको बताउनुभयो। सङ्गीत र संस्कृतिलाई युवा पुस्तामा पुनर्जीवन दिने महत्वपूर्ण प्रयासका रूपमा पनि उहाँले यस सङ्ग्रहको प्रशंसा गर्नुभयो।

कार्यक्रममा स्थानीय साहित्यकार, कलाकार, पत्रकार, सङ्गीतकर्मी तथा सांस्कृतिक सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button