नेपाली सेनाले कर्णालीमा बनायो ४६६ किमी सडक
जुम्ला । भौगोलिक रुपमा विकट कर्णालीमा सडक सञ्जालको विस्तार तथा विकासका लागि नेपाली सेनाले महत्वपूर्ण योगदान दिएको छ । सीमित स्रोत साधनका बीच कर्णालीका विकट जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्न नेपाली सेनाले गरेको योगदान अतुलनीय रहेको देखिन्छ ।

कर्णाली राजमार्ग, नाग्म–गमगढी सडक खण्ड, कर्णाली समृद्धिको मार्ग मानिएको कर्णाली करिडोर जस्ता महत्वपूर्ण सडक आयोजनाहरू कर्णालीमा नेपाली सेना मार्फत नै निर्माण भएका छन् । कर्णालीको सडक विकास निर्माणमा सेनाको योगदानबारे तथ्याङ्क हेर्दा हाल सम्म कर्णाली प्रदेशमा नेपाली सेनाले चार सय ६६ किलोमिटर सडक निर्माण गरेको देखिन्छ ।
जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डा, काठमाडौँबाट प्राप्त जानकारी अनुसार नेपाली सेनाले कर्णालीका पाँच वटा ठुला सडक आयोजना निर्माण गरेको छ । २०६४ सालदेखी २०७८ सम्ममा पाँच वटा सडक आयोजना अन्तरर्गत चार सय ६६ किलोमिटर निर्माण सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरिएको छ ।
सरकार मातहतका निकायले काम गर्न नसक्ने कठिन भूगोलमा, कडा चट्टानी क्षेत्र, जोखिमयुक्त क्षेत्रमा सरकारले मन्त्री परिषद्को निर्णयबाट सेनालाई निर्माणको जिम्मेवारी सुम्पिँदै आएको अवस्था छ । सोही अनुसार नेपाली सेनाले कर्णालीको सडक विकासलाई प्राथमिकता दिएर काम गरेको छ ।

तथ्याङ्क अनुसार जुम्ला–सुर्खेत २३२ किलोमिटर दुरी रहेको कर्णाली राजमार्गको ८८ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरेको पाइएको छ । दैलेखको साईखोला देखी कालिकोटको छिन्डेना सम्म ८८ किमी सडक निर्माण गरेको हो । उक्त सडक २०६४ समै सम्पन्न भइसकेको थियो । त्यस्तै, देशकै आकर्षक पर्यटकीय गन्तव्य रारा तालसँगै मुगुलाई राष्ट्रिय सडक सञ्जालमा जोड्न समेत नेपाली सेनाले नै योगदान दिएको छ । कालिकोटको सीमावर्ती क्षेत्र नाग्मघाट देखी मुगुको गमगढी सम्म ९४ किलोमिटर सडक सेना लै निर्माण गरेको हो । २०७९ सालमा उक्त सडक निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ ।
त्यसैगरी कर्णालीको लाईफ लाइन मानिएको राष्ट्रिय गौरबको आयोजनामध्ये एक कर्णाली करिडोरको निर्माणमा पनि सेनाको सहभागिता छ । निकै कठिन भूगोल चट्टान फोड्नु पर्ने क्षेत्रमा सेनाले काम गरेको छ । झण्डै ६ किमी भन्दा बढी दुरी रहेको करिडोरको १२२.७५ किमी सडक नेपाली सेनाले निर्माण गरिसकेको छ । करिडोर अन्तरर्गत कालिकोटको खुलालु देखी हुम्लाको सल्लीसल्ला सम्मको १२२ किमी सडक निर्माण गर्न मन्त्री परिषद्को निर्णयले सेनालाई जिम्मा दिएको थियो । २०७८ सालमा १२२ किमी सडक निर्माण गरी सकेको छ ।

साथै जाजरकोट–डोल्पा जोड्ने सडक पनि सेनाले नै निर्माण गरेको छ । नेपाली सेनाले २०७४ सालमै हिमाली जिल्ला डोल्पालाई जाजरकोटसँग जोडेको थियो । जाजरकोट–डोल्पाको ११७.७७ किलोमिटर सडक निर्माण गरिएको छ । भने २०६६ सालमा छिन्चु–जाजरकोट जोड्ने ४५ किलोमिटर सडक समेत सेनाले निर्माण गरी सरकारलाई हस्तान्तरण गरेको थियो । २०६४ यता २०७८ सम्म पाँच वटा सडक आयोजना अन्तरर्गत ४६६ किमी सडक निर्माणमा गरेको सेनाले कर्णालीका दुर्गम जिल्लामा यातायातको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान गरेको छ ।
देशको शान्ति सुरक्षासँगै विकास निर्माणको जिम्मेवारी पाएको सेनाले राज्यका विकासे अड्डाले, ठेकेदारहरूले काम गर्न नसकेको जोखिम र कठिन ठाउँमा नेपाली सेनाले काम गर्दै आएको देखिन्छ । साथै कर्णाली करिडोरको केही भाग हाल पनि सेनाले नै निर्माण गरिरहेको छ । करिडोर अन्तरर्गत (लालीबगर–दुल्लीकुना–घाटपारी चौर–बद्रीगाउँ–भक्काखोला) सडक आयोजनाको कूल २२.०५ किमी सडक निर्माण भइरहेको छ । जसमध्य गत आर्थिक वर्ष २०८१/०८२ मा १६ किमी नयाँ ट्याक खोल्ने काम सम्पन्न भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

चालु आ.व.को असोज मसान्त सम्म ०.१४ किमी ट्याक स्तरोन्नतिको काम र ०.०६ किमी नयाँ ट्याक निर्माणको काम सहित कुल १६.०६ किमी सडकको ट्याक निर्माण गरिएको छ । भने साढे ५ किमी सडकको ट्याक खोल्ने काम चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने नेपाली सेनाको लक्ष्य छ । सङ्घीयतापछि राष्ट्रिय सडक सञ्जालमा नजोडिएको दुर्गम हुम्लालाई सडक सञ्जालमा जोड्नेदेखि कठिन क्षेत्रमा सडक निर्माण गरी यातायात पहुँच विस्तारमा सेनाले गरेको योगदानलाई कर्णालीवासीले प्रशंसा गर्दै आएका छन् । शान्ति सुरक्षा अलवा देशको विकास निर्माणमा समेत सेनाले हातेमालो गर्दै आएको छ । यसले नागरिक र सेनाबीचको सम्बन्ध सुमधुर हुँदै जाने र विकासमा राज्यलाई टेवा पुग्ने विश्वास गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्