राष्ट्रियसभाका पूर्व सदस्य श्रेष्ठको ८४ वर्षको उमेरमा निधन

चितवन । राष्ट्रियसभाका पूर्वसदस्य एवं नेपाल महिला संघ चितवनकी पूर्वअध्यक्ष कृष्णकुमारी श्रेष्ठको निधन भएको छ । श्रेष्ठको ८४ वर्षको उमेरमा निधन भएको हो । निधनसँगै कांग्रेस चितवनले अभिभावक गुमेको महसुस गरेको छ ।
नेपाली कांग्रेस चितवनका उपसभापति शालिग्राम शर्माले कृष्णकुमारी श्रेष्ठको निधनप्रति अभिभावक गुमेको महसुस भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसले एक जना प्रजातन्त्रको सेनानी गुमाएको छ, अभिभावक गुमाएको छ ।’ श्रेष्ठको निधनले नेपाली कांग्रेस चितवनलाई अपुरणीय क्षति पुगेको उहाँको भनाइ छ ।
यसैबीच कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शोक विज्ञप्ति जारी गरी कांग्रेस चितवनकी पूर्वसदस्यसमेत रहेकी श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
श्रेष्ठले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । उनको निधनबाट काँग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसैबीच, श्रेष्ठको निधनप्रति कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि दुःख व्यक्त गर्नुभएको छ । उहाँले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा श्रेष्ठले पुर्याउनुभएको सक्रिय योगदानको स्मरण गर्दै उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
कार्यवाहक सभापति खड्काले स्वर्गीय श्रेष्ठको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्