पत्रकारहरूलाई पर्यटन फोटोग्राफी रिपोर्टिङ सम्बन्धि अनुशिक्षण
नेपालगञ्ज । नेपाल पर्यटन बोर्डको आयोजनामा आज नेपालगञ्जमा फोटोग्राफी रिपोर्टिङ सम्बन्धि अनुशिक्षण कार्यक्रम गरिएको छ । नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीको अध्यक्षतामा भएको अनुशिक्षण कार्यक्रमको उद्घाटन नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर तथा पर्यटन दिगो विकास परियोजनाका राष्ट्रिय परियोजना संयोजक श्रद्धा श्रेष्ठले गर्नुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै उहाँले लुम्बिनी प्रदेशभित्र थुप्रै पर्यटकीय सम्भावना रहेकाले पत्रकारिताका क्षेत्रबाट पनि उजागर गर्न जरुरी रहेको बताउनुभयो । उहाँले पर्यापर्यटनको प्रवर्द्धनका लागि मिडिया र सरोकारवालाहरूबिच समन्वयात्मक भूमिका महत्वपूर्ण हुने बताउनुभयो । नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) बाँके र क्रियाशील पत्रकार महिला बाँकेको समन्वयमा गरिएको कार्यक्रमका सहभागीहरूले यस्ता कार्यक्रमले पर्यापर्यटनको क्षेत्रमा भइरहेका प्रयासलाई उजागर गर्न थप क्रियाशीलता बढाउने बताएका थिए ।
कार्यक्रममा नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) बाँकेका निवर्तमान अध्यक्ष श्रीराम सिग्देलले पर्यटनको विषयमा बाँकेमा पछिल्ला दिनमा छलफलहरू नियमित हुनु र पर्यटकीय क्षेत्र पहिचान गरी भ्रमणमा जाने अभ्यास सुरु भएको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, क्रियाशील पत्रकार महिला बाँकेका अध्यक्ष सावित्री गिरी लगायतले पश्चिम नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्डले पत्रकारहरूको लागि अनुशिक्षण, अभिमुखीकरण तथा फेलोशिप जस्ता कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभएको थियो ।
नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलीप प्रकाश कार्कीले पर्यटन रिपोर्टिङ र फोटो पत्रकार सुनिल चूडामणि बज्राचार्यले पर्यटकीय उत्पादनको तस्बिर खिच्ने तरिका र प्रक्रियाबारे अभिमुखीकरण गराउनुभएको थियो । कार्यक्रममा बाँकेका विभिन्न मिडियामा कार्यरत ६० जना बढी पत्रकारहरूको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्