तपाईँ सुन्दै हुनुहुन्छः

विवाह पञ्चमी अन्तर्गत फूलबारी लिला सम्पन्न

जनकपुरधाम । जनकपुरधाममा शुरु भएको सप्ताहव्यापी श्रीसीताराम विवाह पञ्चमी महामहोत्सवको दोस्रो दिन फूलबारी लिला सम्पन्न भएको छ ।

तत्कालीन मिथिला नरेशले जनकपुरधाममा आयोजना गर्नुभएको धनुष यज्ञमा सहभागी हुनका लागि अयोध्याका तत्कालीन राजा दशरथका ज्येष्ठ सुपुत्र भगवान् राम, लक्ष्मण सहित गुरु विश्वामित्र जनकपुरधाम आउनुभएको र सो क्रममा विभिन्न बाग बगैँचाको भ्रमण गर्ने क्रममा भगवान् श्रीराम तथा माता सीताको फूलबारीमा जम्काभेट भएको स्मरणमा प्रत्येक वर्ष फूलबारी लिला हुने गरेको छ ।

जनकपुरधामको विवाह मण्डपमा आयोजना गरिएको फूलबारी लिला हेर्नका लागि ठूलो सङ्ख्याका भक्तजनहरू विवाह मण्डप उपस्थित रहनुभएको थियो । फूलबारी लिलामा विभिन्न प्रकारको धार्मिक गीत सङ्गीत तथा नृत्यहरू प्रदर्शन गरिएको छ ।

जनकपुरधाममा आयोजना हुने महोत्सव मध्ये सबै भन्दा ठूलो धार्मिक महोत्सवको रुपमा श्री सीताराम विवाह पञ्चमी महामहोत्सवका जानकी मन्दिरलाई नयाँ बेहुलीझैँ सिँगारिएको छ । यस पटक ठूलो सङ्ख्यामा भक्तजनहरू नेपाल तथा भारतबाट आउने अनुमान छ ।

सप्ताहव्यापी श्रीसीताराम विवाह पञ्चमी महामहोत्सव अन्तर्गत भोली मङ्सिर ६ गते दिन धनुष यज्ञ, मङ्सिर ७ गते आइतबार तीलकोत्सव, मङ्सिर ८ गते सोमवार मटकोर, मङ्सिर ९ मङ्गलवार स्वयंम्बर  तथा शुभ विवाह तथा मङ्सिर १० गते बुधवार रामकलेवा विधि सहित यसवर्षको विवाहपञ्मी समापन गरिने कार्यक्रम रहेको जानकी मन्दिरले जनाएको छ । 

यसै बीच जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहको अगुवाइमा जनकपुरधामबाट १०१ पाहुरसहित एक टोली भारतका अयोध्याका लागि आज प्रस्थान गरेको छ । विवाहको कार्ड तथा भगवान् श्रीरामको लागि केही सामाग्रीहरू टोलीलाई पठाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button