तपाईँ सुन्दै हुनुहुन्छः

कोल्टीबाटै परिचयपत्र सेवा सुरु, दुर्गमका बासिन्दालाई ठूलो राहत

बाजुरा। राष्ट्रिय परिचयपत्र बनाउनकै लागि मार्तडी पुग्नु पर्ने बाजुराका कुण्डा बासीको बाध्यता हटेको छ ।

जिल्लाको पुर्वोत्तरी क्षेत्र स्थित कोल्टी बाटै राष्ट्रिय परिचयपत्र सहितका सरकारी सेवाका काम सुरु गरिएसँगै सामान्य कामका लागि समेत मार्तडी पुग्नु पर्ने बाध्यता हटेको हो ।

बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनककुमार बोहराका अनुसार पूर्वी–उत्तरी भेगका चार स्थानीय तहका बासिन्दालाई लक्षित गर्दै सेवा विस्तार गरिएको हो । उहाँका अनुसार नागरिकलाई घर नजिकबाट सजिलो, सरल र छिटो सेवा उपलब्ध गराउन यो कदम उठाइएको हो ।

सदरमुकाममा भिडभाड र दूरीका कारण नागरिकले वर्षौँदेखि भोग्दै आएको कठिनाइलाई समाधान गर्ने उद्देश्य सहित सेवा विस्तार गरिएको प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले जानकारी दिनुभयो।

उहाँका अनुसार जिल्लाको पुर्वोत्तरी क्षेत्रमा राष्ट्रिय परिचयपत्र वितरणका लागि कोल्टी उपयुक्त ठाउँ भएकाले यसले हजारौँ नागरिकलाई राहत पुग्ने छ ।

गाउँमै परिचयपत्र लगायत सरकारी सेवा लिन पाएपछि स्थानीय नागरिक उत्साहित हुनुभएको छ भने सेवा सहज बन्दै गएको छ । अबदेखि बुढीनन्दा नगरपालिका, जगन्नाथ गाउँपालिका, स्वामिकार्तिक खापर गाउँपालिका र हिमाली गाउँपालिकाका नागरिकहरूले कोल्टी मै यो सेवा प्राप्त गर्न सक्नेछन् ।

साथै जिल्ला प्रशासन कार्यालय मार्तडी र कोल्टी दुवै स्थानबाट परिचयपत्र सेवा उपलब्ध हुने भएपछि नागरिकलाई विकल्प समेत खुलेको छ । यस कदमले दुर्गम क्षेत्रका मानिसहरूलाई समय, सम्पत्ति र श्रम बचत गर्दै सरकारी सेवाप्रति विश्वास वृद्धि गर्ने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button