तपाईँ सुन्दै हुनुहुन्छः

२६ जिल्लाका ३५ हजार किसानहरूमार्फत व्यावसायिक आलु खेती सुरु

काठमाडौँ । फ्रेन्च फ्राइज उद्योगले देशका २६ जिल्लाका ३५ हजार किसानहरूमार्फत व्यावसायिक आलु खेती सुरु गरेको छ ।

रुपन्देहीको शुद्धोधन गाउँपालिका मैनहियास्थित फस्ट च्वाइस फुड प्रा.लिले किसानहरूले उत्पादन गरेको आलु किन्ने बाई ब्याक ग्यारेन्टीसहित कन्टयाक्ट फार्मिङ अन्तर्गत आलु खेती गरिरहेको जनाएको छ  ।

कम्पनीले हाल देशभरको करिब ८ सय बिगाहा क्षेत्रफलमा आलु लगाएर सकिन लागेको कम्पनीका कार्यकारी अध्यक्ष कृष्ण पौडेलले जानकारी दिनुभयो । 

कम्पनीले कैलालीको टीकापुरमा किसानमार्फत २०० बिगाहा जमिनमा र आफैले प्लान्टर मेसिनको सहायताले ९० बिगाहामा आलु खेती गरेको छ । आधुनिक प्लान्टर मेसिनबाट आलु खेतीका लागि कम्पनीले किसानहरूलाई  तालिम समेत प्रदान गरेको छ ।

यस वर्ष कम्पनीले उद्योगलाई आवश्यक पर्ने २० हजार मेट्रिक टन उन्नत जातको गुणस्तरीय आलु चाहिने भएकाले कन्ट्याक्ट फार्मिङ अवधारणाअनुसार किसानले उत्पादन गर्ने आलुको न्यूनतम समर्थन मूल्य तोकी खरिद सुनिश्चित गरेर व्यावसायिक आलु खेती गराएको हो ।

भारतबाट ल्याएको प्लान्टर मेसिनले ८ घण्टामा ५० बिगाहा जमिनमा आलु रोपेको उद्योगका कार्यकारी अध्यक्ष कृष्ण पौडेलले जानकारी दिनुभयो । 

‘किसानको उत्पादन लागत कम होस्, कृषि मजदुरको अभावले खेती प्रभावित नहोस् भनेर प्लान्टर मेसिन भित्राएको र मेसिनबाट आलु रोप्दा गुणस्तरीय र बढी परिमाणमा आलु उत्पादन हुन्ने अनुमान गरिएको अध्यक्ष पौडेलले बताउनुभयो ।

उद्योगले हालै फ्रेन्च फ्राइज अमेरिका निर्यात गरेको छ । निकट भविष्यमा बेलायत, जापान, भारत तथा अष्टे«लियामा समेत फ्रेन्च फ्राइड निर्यात गर्ने तयारी भएको कम्पनीले जनाएको छ ।  त्यसका लागि गुणस्तरीय आलु आपूर्ति सहज बनाउन किसानलाई आधुनिक प्रविधि, बिउ र मलमा सहयोग गरेर व्यावसायिक खेतीलाई प्रोत्साहन गरेको पौडेलले बताउनुभयो ।

रुपन्देहीमा सञ्चालित उद्योगले कैलालीको टीकापुरमा प्लान्टर मेसिनबाट १ सयभन्दा बढी किसानमार्फत २०० बिगाहामा व्यावसायिक आलु खेती गरेको हो । 

उद्योगले किसानको मनोबल उच्च हुने गरी सबै सहयोग गरेकाले व्यावसायिक आलु खेतीमा होमिएको स्थानीय किसानहरूले बताएका छन् ।  फ्याकल्टी अफ एग्रिकल्चर डिन कार्यालय टीकापुरका प्रमुख विष्णु अधिकारीले फ्रेन्च फ्राइज उद्योगले टीकापुरमा पहिलो पटक प्लान्टर मेसिन भित्र्याएर व्यावसायिक आलु खेतीलाई प्रवर्द्धन गरिरहेको बताउनुभयो ।

उद्योगले चालु वर्षमा ३० हजार मेट्रिक टन आलु खरिद गर्ने लक्ष्य राखेको छ । वार्षिक ४० हजार मेट्रिक टन आलु प्रशोधन गरी फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योगको क्षमता रहेको छ ।

तराईका अन्य जिल्लामा पनि कैलालीको टीकापुरमा जस्तै मेसिनबाट आलु खेती विस्तार गर्ने तयारी रहेको उद्योगले जनाएको छ ।

रुपन्देहीको शुद्धोधन गाउँपालिकाको मैनहियास्थित फस्ट च्वाइस फुड प्रा.ली ५ बिगाहा क्षेत्रफलमा फैलिएको छ । उद्योगमा हाल १ सय ५० जनाले रोजगारी पाएका छन् । उद्योगमा स्थानीय ७ जना लगानीकर्ताहरूले २ सय करोड लगानी गरेको कम्पनीका कार्यकारी अध्यक्ष पौडेलले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button