तपाईँ सुन्दै हुनुहुन्छः

अक्षरा अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिताको उपाधि एसपीईएसलाई 

बारा । प्रथम अक्षरा अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता’को उपाधि सिमरा पब्लिक इङ्लिस स्कुल (एसपीईएस) ले आकर्षक प्रदर्शनसहित हात पारेको छ । 

शनिबार जीतपुरसिमरा–४ स्थित सेज क्रिकेट मैदानमा भएको फाइनलमा आयोजक अक्षरा पाठशालालाई १५ रनले पराजित गर्दै सिमरा पब्लिक च्याम्पियन बनेको अक्षरा पाठशालाका ऋषि काफ्लेले जानकारी दिए । टस जितेर पहिला ब्याटिङ गरेको सिमरा पब्लिकले निर्धारित १० ओभरमा ३ विकेटको क्षतिमा ७१ रनको सशक्त योगफल तयार गर्‍यो । 

टोलीका लागि रिया श्रेष्ठले धमाकेदार २४ रन जोडिन् भने अनुष्का कार्कीले १३ रनको योगदान दिइन्। बलिङतर्फ अक्षराकी प्रिन्सा पौडेल प्रभावशाली रहिन्, उनले २ विकेट लिइन् भने सुस्मिता चौधरीले १ विकेट थपिन् । ७२ रनको लक्ष्य पछ्याउन उत्रिएको आयोजक अक्षरा टोलीले सुरुदेखि लय समाउन नसक्दा दबाब बढ्दै गइरह्यो । 

अमिश कार्कीले १७ रनको उल्लेखनीय प्रयास गरिन्, प्रिन्सा पौडेलले ७ रन थपिन्, तर अन्य ब्याटरहरू सिमरा पब्लिकको कसी बलिङ सामु कमजोर देखिए । निर्धारित १० ओभरमा अक्षरा ५७ रनमै रोकिएको थियो । प्रतियोगिताका उत्कृष्ट खेलाडीहरू पनि सार्वजनिक गरिए । सिमरा पब्लिककी विनिशा लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भइन् । 

प्रतियोगिता अवधिभर ७३ रन बनाएकी रिया श्रेष्ठ ‘उत्कृष्ट ब्याटर’ भइन् भने ८ विकेट सङ्ग्रह गरेकी प्रिन्सा पौडेल ‘उत्कृष्ट बलर’ बनिन् । फाइनलमा महत्वपूर्ण योगदान दिएकी रिया श्रेष्ठ ‘प्लेयर अफ द म्याच’ समेत घोषणा गरिइन् । 

विजेता तथा उपविजेता टोलीलाई क्यान मधेश प्रदेशका कोषाध्यक्ष सुवास जयसवाल, एन प्याब्सनका केन्द्रीय सदस्य रामप्रसाद अधिकारी, विभिन्न विद्यालयका प्रिन्सिपलहरू तथा स्थानीय खेलकुद अभियन्ताले पुरस्कार वितरण गरे । स्थानीय तहमा महिला क्रिकेटप्रति बढ्दो चासो र प्रतिभा पहिचानमा यस प्रतियोगिताले सकारात्मक प्रभाव पारेको आयोजकले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button