तपाईँ सुन्दै हुनुहुन्छः

‘अर्थतन्त्रको विकासमा डा यादवप्रसाद पन्तको योगदान महत्वपूर्ण’

काठमाडौँ । नेपालका धुरन्धर विद्धान डा. यादवप्रसाद पन्तको बहुआयामिक व्यक्तित्व र नेपालको अर्थतन्त्रमा उहाँको योगदान’ विषयक एक दिने विचार गोष्ठी शुक्रवार काठमाडौँमा सम्पन्न भएको छ ।

पूर्व अर्थ मन्त्री एवम् नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर स्वर्गीय पन्तको १०० औँ जन्मजयन्तीका सन्दर्भमा नेपाल राष्ट्र बैङ्कद्वारा उक्त गोष्ठीमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपालको आधुनिक अर्थतन्त्रको जग बसाली नेपालको अर्थव्यवस्थालाई अन्तर्राष्ट्रिय क्षेत्रसँग आबद्ध गर्ने सन्दर्भमा डा. पन्तको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो ।

डा. पन्तलाई बहुआयामिक व्यक्तित्व’को रुपमा स्मरण गर्दै अर्थमन्त्री खनालले भन्नुभयो, “उहाँ कुनै एउटा विधामा मात्रै सीमित हुनुहुन्थेन । वित्तीय नीति र मौद्रिक नीतिसँगै कुशल योजनाकार, कूटनीतिज्ञ र राजनीतिमा पनि उहाँ उत्तिकै दक्खल राख्नुहुन्थ्यो ।” डा. पन्तका विचार र दृष्टिकोण आज पनि उत्तिकै सान्दर्भिक रहेको अर्थमन्त्री खनालको भनाइ थियो । 

कार्यक्रममा गभर्नर प्रा.डा.विश्वनाथ पौडेलले डा.पन्तको नेतृत्व कालमा मुलुकको अर्थव्यवस्था र वित्तीय प्रणालीमा महत्वपूर्ण संरचनागत सुधारको थालनी भएको चर्चा गर्नुभयो । 

उहाँको कार्यकालमा नेपालमा ५०० र रु.१००० रुपैयाँ दरका बैङ्क नोटको प्रचलन र आरम्भ भएको,नेपालमा बैङ्किङ विकास कोषको स्थापना, बैङ्किङ सेवाको पहुँच अभिवृद्धिका निम्ति डा. पन्तबाट भएका नीतिगत र संरचनागत प्रयासहरू स्मरणीय रहेको गभर्नर पौडेलले बताउनुभयो ।

त्यस अवसरमा पूर्व अर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनीले स्वर्गीय पन्तलाई ‘आधुनिक अर्थतन्त्रका चिन्तक’ र दूरदर्शी आर्थिक दृष्टिकोण’ राख्ने व्यक्तित्वको रूपमा चित्रण गर्दै उहाँको नेतृत्वमा भएका आर्थिक सुधारका प्रयासहरू नेपालका लागि स्मरणीय छन्, भन्नुभयो ।

गोष्ठीमा पूर्व गभर्नर गणेशबहादुर थापाले पन्तको नेतृत्व कालमा बैङ्किङ तथा वित्तीय सेवाको विस्तारमा उल्लेखनीय प्रगति हासिल भएको धारणा राख्नुभयो ।

राष्ट्र बैंकका पूर्व सञ्चालक प्रा.डा. पार्थिवेश्वरप्रसाद तिमिल्सिनाले स्वर्गीय पन्तको सिर्जनशील व्यक्तित्व र उहाँका कृतिहरूका बारेमा स्मरण गर्नुभयो । 

पूर्व अर्थमन्त्रीहरू डा. युवराज खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की र डा. रूप ज्योति तथा पूर्व गभर्नरहरू डा. तिलकबहादुर रावल, दीपेन्द्र पुरुष ढकाल, विजयनाथ भट्टराई र दीपेन्द्रबहादुर क्षेत्रीले डा. यादवप्रसाद पन्तको व्यक्तित्वका विविध पक्षबारे चर्चा गर्नुभयो । 

पूर्व महालेखापरीक्षक भानुप्रसाद आचार्य, डा. पन्त अनुसन्धान तथा विकास प्रतिष्ठान, नेपालका सदस्य राधेश पन्तलगायतले स्वर्गीय पन्तका प्रेरणादायी कार्य र उहाँले नेपालको आर्थिक, शैक्षिक तथा कूटनीतिका क्षेत्रमा पुर्‍याउनुभएको योगदानको चर्चा गर्नुभयो ।

सो अवसरमा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भोलाराम श्रेष्ठले डा. यादवप्रसाद पन्तको बहुआयामिक व्यक्तित्व र नेपालको अर्थतन्त्रमा उहाँको योगदान’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । गोष्ठीमा प्रतिष्ठानद्वारा डा. पन्तको जीवनीमाथि तयार गरिएको संक्षिप्त श्रब्यदृष्य सामग्रीसमेत प्रस्तुत गरिएको थियो । 

सो अवसरमा पूर्व अर्थमन्त्रीहरू डा. भेषबहादुर थापा, शङ्करप्रसाद कोइराला र वर्षमान पुन, राष्ट्र बैंकका सञ्चालकहरू चिन्तामणि शिवाकोटी, डा. शङ्करप्रसाद आचार्य र डा. रवीन्द्रप्रसाद पाण्डे, अर्थविद्, राष्ट्र बैंकका उच्च अधिकारी, बैङ्क तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, उद्योगी व्यवसायी, सञ्चारकर्मी, पन्त परिवारका सदस्यहरू लगायतको उपस्थिति थियो । 

वि.सं. १९८२ मङ्सिर २ गते काठमाडौँमा जन्मनुभएका डा. पन्तले २०२५ देखि २०३० सालसम्म राष्ट्र बैङ्कको गभर्नर र २०३७ देखि २०३९ सालसम्म अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँ राष्ट्रिय योजना आयोगका संस्थापक सदस्य समेत हुनुहुन्थ्यो । उहाँको नेतृत्व कालमा अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैङ्क लगायतका अन्तर्राष्ट्रिय वित्तीय निकायसँगको सम्बन्ध विस्तारमा फलदायी र परिणाममुखी प्रयासहरू भएका थिए । डा. पन्तको कार्यकालमा मुलुकको अर्थतन्त्रको नीतिगत र संरचनागत सुधारका निम्ति उल्लेखनीय प्रयासहरू भएका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button