धनकुटाको ऐतिहासिक टक्सार घर सर्वसाधारणका लागि खोल्ने तयारी
धनकुटा। धनकुटा सदरमुकामको सल्लेरी ब्यारेकमा रहेको ऐतिहासिक टक्सार घर सर्वसाधारणका लागि खुला गर्न गृहकार्य सुरु भएको छ।

तत्कालीन बडाहाकिम कर्णेल राजशमशेरको पालामा वि.सं. १९८७ मा इलामबाट धनकुटा ल्याइएको थियो। वि.स. १९८७ देखि १८८९ सम्म सञ्चालनमा ल्याइएको पानीबाट चल्ने टक्साएमा २ र ५ पैसाको ढ्याङ्क छापिन्थ्यो। त्यसपछि तामा प्राप्त गर्न असजिलो भएपछि पैसा छाप्ने काम बन्द भएको थियो। हाल उक्त टक्सार घर सल्लेरीस्थित नेपाली सेनाको भीमदल गण, सल्लेरी ब्यारेकभित्र छ।
सेनाको ब्यारेकमा लामो समयदेखि रहेको टक्सार घर पर्यटकहरूका लागि खुला गर्नुपर्ने माग उठिरहेको छ। तर सेनाको ब्यारेकभित्र भएकोले सुरक्षा संवेदनशीलताका कारण टक्सार घरमा सर्वसाधारणलाई भ्रमण र अवलोकनका लागि खुला गरिएको छैन। उक्त टक्सार घर संरक्षण र जिर्णोद्वारका लागि पुरातत्त्व विभागबाट चालु आर्थिक वर्षका लागि ५ लाख रुपैयाँ विनियोजन भएको छ। टक्सारको सञ्चालन स्वामित्व नगरपालिका, प्रदेश सङ्ग्रहालय, पुरातत्त्व विभाग वा कसले लिने भन्ने टुङ्गोमा पुगेपछि मात्रै खुल्ला गरिने धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले बताउनु भयो।
अहिले नेपाली सेना, पुरातत्त्व विभाग, जिल्ला समन्वय समिति, धनकुटा नगरपालिका, जिल्ला प्रशासन कार्यालय र सरोकारवालाबिच छलफल सुरु भएको छ।
टक्सार घर मर्मतका लागि सेनाले सहजीकरण गर्ने र टक्सार घर सर्वसाधारणका लागि खुला गर्ने विषयमा भने विस्तृत छलफल र नेपाली सेनाको लिखित अनुमति आवश्यक हुने नेपाली सेनाको भीमदल गणका गणपति गणेश थापाले बताउनु भयो।








प्रतिक्रिया राख्नुहोस्