तपाईँ सुन्दै हुनुहुन्छः

मङ्सिर पहिलो साता अन्तर्राष्ट्रिय कर सम्मेलन हुने

काठमाडौँ । नेपाल चेम्बर अफ ट्याक्स कन्सलटेन्ट्सको आयोजनामा आगामी मङ्सिर २ गतेदेखि ५ गतेसम्म काठमाडौँमा अन्तर्राष्ट्रिय कर सम्मेलन आयोजना हुने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष रोशन पोखरेलले कर शिक्षा र क्षमता विकास, सरकारी नियकाहरुसँग नीतिगत संवाद र वकालत तथा कर क्षेत्रमा अनुसन्धान र सुधारको उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको बताउनुभयो ।

“सम्मेलन विशेष गरी नेपालको कर प्रणालीको विकसित रूप प्रदर्शन गर्ने, नेपाली कर व्यवसायीहरूलाई अन्तर्राष्ट्रियकरण विशेषज्ञसँग जोड्ने र नेपाललाई ‘माइस’ गन्तव्यका रूपमा प्रवर्द्धनमा केन्द्रित हुनेछ”, उहाँले भन्नुभयो । 

उहाँका अनुसार सम्मेलनमा ३५० जना अन्तर्राष्ट्रिय प्रतिनिधि र २०० भन्दा बढी नेपालका कर व्यवसायी, नीति निर्माता, सरकारी अधिकारी, व्यवसायी तथा विज्ञहरूको सहभागिता रहनेछ ।

सम्मेलनले नेपालको कर र वित्त व्यवसायीहरूको क्षमता अभिवृद्धि, कर नीति र अनुपालनामा अन्तर्राष्ट्रिय अभ्यास आदानप्रदान र सञ्चार प्रवर्द्धन गर्नेमा अपेक्षा गरिएको छ । यसमार्फत नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन तथा कर र लगानीका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तारमा सहयोग पुग्ने अध्यक्ष पोखरलले बताउनुभयो ।

सम्मेलनमा विकासशील देशहरूको कर प्रणालीको ऐतिहासिक विकास, उदाउँदो अर्थतन्त्रमा कर नीति कार्यान्वयनका चुनौतीहरू, विश्वव्यापी कर अनुपालनामा कर व्यवसायीको भूमिका, कर प्रशासनमा डिजिटल रूपान्तरणका अवसर र चुनौती, विकासशील अर्थतन्त्रमा कर व्यवसायीहरूको आचारसंहिता र व्यावसायिक दायित्वलगायतका विषयमा बहस हुनेछ । 

सम्मेलनको आकर्षणका रूपमा मङ्सिर ५ गते आन्तरिक राजस्व विभागसँगको सहकार्यमा ‘प्राक्टिकल एस्पेक्ट अफ ट्रान्सफर प्राइसिङ’ विषयमा चार घण्टा लामो सेमिनार आयोजना हुनेछ । 

सम्मेलन एसिया–ओसियान ट्याक्स कन्सलटेन्ट्स एशोसिएसनको समन्वयमा सञ्चालन हुनेछ । नेपाल चेम्बर अफ ट्याक्स कन्सलटेन्ट्स सन् २०१८ मा स्थापना भएको हो । 

संस्थाले नेपालमा करसम्बन्धी नीतिगत अध्ययन, कर विज्ञको प्रवर्द्धन, प्रचलित अन्तर्राष्ट्रिय कर अभ्यासको विश्लेषण, कर व्यवसायीको संस्थागत विकास तथा करसम्बन्धी निकायसँग सहकार्य र समन्वय गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button