भारतको तुलनामा राम्रो आम्दानी भएपछि भारतीय कामदार नेपाल आउँदै

सर्लाही । भारतको तुलनामा राम्रो आम्दानी भएपछि भारतीय कामदार यति बेला स-परिवार नेपाल आउने क्रम जारी छ।
भारतको उत्तर प्रदेशबाट सयौँको सङ्ख्यामा कामदारहरू बिहीबार मात्र सर्लाहीमा आएका छन् । भारतमा निर्वाचन सम्पन्न भएपछि बिहीबार करिब पाँच सय जना भारतीय नागरिक सर्लाही जिल्लाको विभिन्न स्थानतर्फ कामको खोजीमा आएका हुन्। तीमध्ये धेरैजसो हरिपुर नगरपालिका स्थित लक्ष्मीपुर क्षेत्रका इट्टा भट्टामा काम गर्न आएका बताइएको छ।
भारतको निर्वाचन सकिएसँगै भारत–नेपाल सीमामा आवागमन सहज बनेको छ। बुधबारदेखि नै सीमा नाका हुँदै कामदारहरूको प्रवेश सुरु भएको हो। बिहीबार बिहान मात्र करिब पाँच सय जना भारतीय नागरिक सर्लाही सदरमुकाम मलंगवा नजिकैको गोरकाली चोकमा आइपुगेका थिए। उनीहरू लक्ष्मीपुरतर्फ जाने तयारीमा रहेका र इट्टा भट्टाका ठेकेदारको प्रतीक्षामा बसेका थिए।
भारतको उत्तर प्रदेश स्तयित लखिमपुरखिरी बस्ने कामदार वारिश अलि भने, “भारतमा आम्दानी धेरै कम हुन्छ, नेपालमा इट्टा भट्टामा काम गर्दा राम्रो ज्याला पाइन्छ। यही कारणले हामी हरेक वर्ष कामका लागि नेपाल आउँछौँ।”
अलिले जनाएअनुसार नेपालका इट्टा भट्टामा ६ महिनाको सिजनमा भारतको तुलनामा झण्डै दोब्बर आम्दानी हुन्छ। सिजनको समयमा एक जना कामदारले महिनामा २५ देखि ३० हजार रुपैयाँसम्म कमाउने गरेका छन्। यही कारणले सर्लाही, रौतहट, बारा, पर्सा लगायतका जिल्लाका इट्टा उद्योगहरूमा भारतीय कामदारहरू काम गर्ने गरेको छ।
हरिपुरमा रहेको हट इट्टा भट्टा सञ्चालक राजु साहका अनुसार स्थानीय कामदारहरू यो काममा कम संलग्न हुने र भारतबाट आउने कामदारमा दक्षता भएको कारण उनीहरूलाई प्राथमिकता दिइन्छ। सर्लाहीमा करिब ५० भन्दा बढी इट्टा भट्टा सञ्चालनमा छन्, जसमा वार्षिक रूपमा हजारौँ भारतीय नागरिक काम गर्ने गर्छन्।
साहले भने, “सिजन सुरु हुनासाथ भारतीय कामदार आउँछन्। उनीहरूले इट्टा उत्पादनमा ठूलो भूमिका खेल्छन्। यसले स्थानीय अर्थतन्त्रलाई पनि चलायमान बनाएको छ।”
भारत र नेपालबीचको खुला सिमानाका कारण यो प्रकारको श्रम आवागमन वर्षेनी हुने गरेको छ। इट्टा भट्टा सिजन सुरु हुने समयसँगै भारतीय कामदारको भीड सर्लाही, रौतहट र बाराका सीमावर्ती क्षेत्रमा देखिन थालेको हो।
यी कामदारहरू मध्ये अधिकांश भारतको उत्तर प्रदेश र बिहारका विभिन्न जिल्लाबाट आएका हुन्। उनीहरू प्रायः परिवारसहित नेपाल आउने र सिजनभर इट्टा भट्टा नजिकैकै टहरामा बसोबास गर्ने गर्छन्।








प्रतिक्रिया राख्नुहोस्