तपाईँ सुन्दै हुनुहुन्छः

राजमार्गको गड्डाचौकी–अत्तरिया खण्ड स्तरोन्नति गर्न अनुगमन

महेन्द्रनगर ।  पूर्व–पश्चिम राजमार्गलार्ई स्तरोन्नति गरी चार लेनको बनाउने विषयमा कञ्चनपुरको गड्डाचौकीदेखि स्थलगत अनुगमन सुरु भएको छ । राजमार्गलाई चार लेनको सडकका रुपमा स्तरोन्नति गर्न सडक विभाग र दातृ निकाय विश्व बैङ्कको संयुक्त टोलीले बुधबारदेखि स्थलगत अनुगमन तथा अध्ययन सुरु गरेको हो ।

यहाँस्थित सडक डिभिजन कार्यालयका प्रमुख राजेशकुमार यादवले राजमार्ग विस्तारका लागि माथिल्लो निकायले स्थलगत अनुगमन सुरु गरेको जानकारी दिदैं त्यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने चरणमा प्रवेश गरिरहेको जानकारी दिनुभयो ।“ पश्चिमीनाका गड्डाचौकीदेखि कैलालीको अत्तरीयासम्म ४५ किलोमिटर सडक खण्ड चार लेन बनाउने विषयको अध्ययनका लागि सडक विभागका उप महानिर्देशक अर्जुन प्रसाद अर्याल नेतृत्वको विश्व बैंकका प्रतिनिधिसहितको टोली यहाँ आएको हो ।” डिभिजन प्रमुख यादवले भन्नुभयो–“ अब सडक विभागले तीन महिनामा परामर्शदाता छनौट गरी काम अघि बढाउँछ, यसका दातृ निकाय सकारात्मक छन् ।”

उहाँले छिट्टै परामर्शदाता छनौट गरेर डिजाइनको काम अघि बढ्नेमा आशावादी रहेको बताउनुभयो । “यसअघि पनि दुर्घटना न्यूनीकरणका लागि सडक डिभिजनले राजमार्गमा पर्ने चोक र स–साना बजार क्षेत्रमा स्तरोन्नतिको काम गरिरहेको थियो ।” यादवले भन्नुभयो–“ हालसम्म यहाँ दुई किलोमिटर जति सडक चोक क्षेत्रमा स्तरोन्नति भयो ।”

त्यसैगरी सडक विभागका उपमहानिर्देशक अर्जुन प्रसाद अर्यालले कपिलवस्तुको चन्द्रौटादेखि गड्डाचौकीसम्मको राजमार्गको भाग स्तरोन्नति गर्न बाँकी रहेको बताउनुभयो ।“ भविष्यको योजनाको तयारी छ । त्यसका लागि अनुगमनका क्रममा छौँ ।” उहाँले भन्नुभयो–“ यो बाँकी सडक एडिबी र विश्व बैङ्क, दुई साझेदार संस्थाको सहयोगमा स्तरोन्नति गर्ने योजना छ । दुवैको सल्लाह र सहमति अनुसार डिजाइन तथा अध्ययन गर्छौ ।” उहाँले तत्काल विस्तृत परियोजना प्रतिवेदन(डिपिआर)बनाएर काम अराइने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button