जनता र राष्ट्रलाई केन्द्रमा राखी विश्वसनिय र निष्पक्ष सूचना प्रवाह गर्न राष्ट्रपति पौडेलको आग्रह
सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सव

काठमाण्डौ । सार्वजनिक सेवा प्रसारण नेपालले आज आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सव मनाएको छ ।
रेडियो नेपाल र नेपाल टेलिभिजनलाई समायोजन गरी रुपान्तरित पिएसबी नेपालले विभिन्न कार्यक्रम गरी स्थापनाको पहिलो वार्षिकोत्वस मनाएको हो ।

वार्षिकोत्सव समारोहको शुभारम्भ गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले रेडियो नेपाल र नेपाल टेलिभिजनले आफ्नोे विरासतलाई जोगाउदै सार्वजनिक सेवा प्रसारणको उद्देश्य अनुरुप नागरिकलाई सुसुचित गर्ने दिशामा प्रतिबद्ध भएर लाग्न आग्रह गर्नुभयो ।
राष्ट्रपति पौडेलले पिएसबीले स्वच्छ, निष्पक्ष र विश्वले स्वीकारेका आधारभुत मान्यतालाई आत्मसात गर्दै अगाडि बढनुपर्ने भन्दै सत्य तथ्यमा आधारित सूचना प्रवाह गर्नु जिम्मेवार सञ्चारमाध्यमको दायित्व भएको स्पष्ट पार्नुभयो ।
पछिल्लो समय गलत सूचना र भ्रामक समाचर प्रसारण भइरहेको अवस्थामा राष्ट्रको विश्वासिलो सञ्चारमाध्यमका रुपमा रहेका सार्वजनिक सेवा प्रसारण अन्तर्गतका सबै सञ्चार माध्यमले जनता र राष्ट्रलाई केन्द्रमा राखी विश्वसनिय, जिम्मेवारी र निष्पक्षताका साथ पत्रकारिताको धर्म निर्वाह गर्न आग्रह गर्नुभयो ।

यसै अवसरमा राष्ट्रपति पौडेलले सार्वजनिक सेवा प्रसारण तथा एनटिभी वल्र्डको स्वीच लगअन गरी औपचारिक सुभारम्भ गर्नुका साथै पिएसबी नेपालको प्रतिक चिन्ह– लोगो र मोवाइल एप सार्वजनिक गर्नुभयो ।

समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले रेडियो नेपाल र नेपाल टेलिभिजनले नेपालको प्रसारणको क्षेत्रमा महत्वपूर्ण योगदान दिंदै आएको स्मरण गर्नुभयो ।
मन्त्री खरेलले आमसञ्चार माध्यमलाई व्यवसायिक रुपमा अगाडि बढ्न गाह्रो भइरहेको पछिल्लो अवस्थामा पिएसबी नेपालले प्रसारण गर्ने विषय सामग्री महत्वपूर्ण हुने भन्दै प्रस्तुती र पहुँचमा समेत पिएसबीलाई प्रभावकारी ढंगबाट अगाडि बढाउनुपर्ने बताउनुभयो ।

मन्त्री खरेलले नेपालमा धेरै टेलिभिजनकाबिच उदाएको एनटिभी वल्र्डले अन्य टेलिभिजनभन्दा फरक र सिर्जनात्मक विषयबस्तु प्रसारण गर्नुपर्ने चुनौती रहेको भन्दै यसलाई दिगो रुपमा अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।
मन्त्री खरेलले सरकार र मन्त्रालय सार्वजनिक सेवा प्रसारण नेपाललाई आवश्यक सहयोग गर्न तयार रहेको समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वार्षिकोत्सव समारोहमा सार्वजनिक सेवा प्रसारण, पिएसवि नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले लोकतन्त्रको प्रवद्र्धन र नागरिकका आवाज पिएसबीको पहिलो प्राथमिकता रहेको बताउनुभयो ।

पिएसबीले नयाँ पुस्ताको पहिलो रोजाईमा पर्ने गरी प्रस्तुतीको शैली बदलेर अगाडि बढेको भन्दै पिएसवि नेपालले आफ्नो मुल्य र विश्वसनियता कायम राखी नागरिक र राष्ट्रबिच पुलको रुपमा रहेर काम गर्ने स्पष्ट पार्नुभयो ।
वार्षिकोत्सवका अवसरमा एनटिभी वल्र्डको शिलालेख पनि अनावरण गरियो ।
तस्बिर: मिलन ढुंगाना








प्रतिक्रिया राख्नुहोस्