नगरपालिकाको आफ्नै लगानीमा सडक सुधार: चौदण्डीगढीको उदाहरणीय पहल
उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिकाले आफ्नै स्रोतसाधनको प्रयोग गर्दै पालिका भित्रका सम्पूर्ण ग्रामीण सडकको स्तरोन्नतिको कार्य सुरु गरेर छुट्टै उदाहरण प्रस्तुत गरेको छ।

नगरपालिकाले अबको बाँकी वर्षलाई “भौतिक पूर्वाधार वर्ष” का रूपमा लिँदै, आफ्नै बजेटबाट १ वटा रोड रोलर, १ वटा टिपर, र १ वटा जेसिबी खरिद गरी पालीकाभित्रका सडक सुधार अभियानलाई तीव्रता दिएको हो।
दश वटै वडालाई समेट्दै, प्रति वडा करिब ५ किलोमिटरका दरले यस वर्ष झन्डै ५० किलोमिटर ग्रामीण सडक स्तरोन्नतिको लक्ष्य लिइएको नगर प्रमुख कालुमान लामाले जानकारी दिनुभयो। उहाँले “गरे के हुन्न?” भन्ने भावनासहित पालिकाभित्रको सबै सडकलाई व्यवस्थित र दिगो बनाउन यो अभियान सुरु गरिएको बताउनुभयो।
नगर प्रमुख लामाका अनुसार, “जनता हरेक दिन खाल्डाखुल्डी सडकमा हिँड्ने गरेको पीडा मैले महसुस गरेको छु। त्यसैले नगरपालिकाले आफ्नो गक्ष र क्षमताभित्र रहेर सबै सडक सुधार गरेर कालोपत्रे गर्न तयारी अवस्थामा पुर्याउने सङ्कल्प लिएको छ,” उहाँले भन्नुभयो।

नगर योजना आयोगका उपाध्यक्ष किशोर ताम्रकारका अनुसार, पालिकाले खरिद गरेका उपकरणहरू रोड रोलर, टिपर, जेसिबी र पानी ट्याङ्कर वडाहरूलाई उपलब्ध गराइएका छन्। वडाले तेलको व्यवस्था गरी खोलाको गिट्टी प्रयोग गर्दै रोड रोलरमार्फत सडक सम्म्याउने कार्य सुरु भएको छ, यो कार्य नगरको दश वटै वडामा गरिएकाे छ ।
नगरपालिकाले आफ्नै लगानीमा यसरी ग्रामीण सडक सुधार सुरु गरेपछि स्थानीयहरूमा उत्साह र खुसी छाएको छ। चौदण्डीगढी नगरपालिका–२ का डम्बरबहादुर खड्काले भन्नुभयाे, “पहिला १०–२० लाखको बजेट आएको सुनिन्थ्यो, तर बाटोमा गिट्टी छरेर पैसा सकिन्थ्यो। अहिले भने पालिकाले आफ्नै स्रोत प्रयोग गरेर सडक स्तरोन्नति गरेको देख्दा अचम्म र गर्व लाग्यो।”
स्थानीयहरूका अनुसार, चौदण्डीगढी नगरपालिकाले सीमित स्रोतसाधनबाट यसरी ग्रामीण सडक सुधारको काम अघि बढाए सँगै इच्छा र प्रतिबद्धता भए विकास सम्भव छ, ढिलो होइन द्रुत गतिमा भन्ने उदाहरण पेस भएको बताउनुभयाे ।








प्रतिक्रिया राख्नुहोस्