तपाईँ सुन्दै हुनुहुन्छः

‘आश्रम निर्माणले धार्मिक र पर्यटकीय क्षेत्रमा योगदान पुग्छ’

बागलुङ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले मानव सेवा आश्रमको निर्माणले बागलुङको धार्मिक र पर्यटकीय क्षेत्रको विकासमा थप योगदान पुग्ने बताउनुभएको छ । 

शुक्रबारदेखि शुरु भएको श्रीमद्भागवत ज्ञान विज्ञान महायज्ञको उद्घाटन गर्दै ढकालले कालीगण्डकीको सभ्यताले आश्रम जस्तो मानव सेवामा पनि सबैलाई जोडेको बताउनुभयो ।

कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गले बागलुङमा व्यवसायको सम्भावना बढाएको र यो क्षेत्रमा मानवीय विकास पनि बढेको उहाँको धारणा छ । मुक्तिनाथ, दामोदर कुण्डदेखि कालीगण्डकी सभ्यताले मानव सेवा आश्रमलाई पनि जोडेको ढकालले बताउनुभयो ।

ढकालले मानवीय रुपमा आश्रमको महत्व एकातर्फ भए पनि आश्रमले आम नागरिकप्रति समेत सहयोगी भावना विकास गर्ने बताउनुभयो ।

मानव सेवा आश्रमले निर्माणाधीन भवन पुरा गर्ने र १० करोडको अक्षय कोष बनाउने लक्ष्यले महायज्ञ आयोजना गरेको छ । यो महायज्ञलाई धार्मिक, सामाजिक र मानवीयताको एकतासँग पनि स्थानीयले जोडेर हेरेका छन् । साथै, आश्रम निर्माण गरेर सडक मानवरहित देश बनाउने महाअभियानलाई पनि योगदान पुग्ने विश्वास लिइएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापा, जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, कथा वाचन भागवत भास्कर कमलनयन गौतम, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्य, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी, बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम मानव सेवा आश्रम श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञका अध्यक्ष सहदेव राज भण्डारीको अध्यक्षता, बागलुङ नगरपालिकाका उपमेयर राजु खड्काको स्वागत र महायज्ञका सचिव युक्तप्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

कात्तिक २८ गते सम्म सञ्चालन हुने महायज्ञको प्रमुख कथा वाचकको रुपमा भागवत भास्कर कमलनयन गौतम रहनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button