सांसदको काम थिति बसाल्ने हो: उपसभापति वाग्ले
दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले सांसदको काम देश बनाउने र थिति बसाल्ने भएको बताउनुभएको छ ।
दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई आज विभिन्न सामग्री हस्तान्तरण गर्दै वाग्लेले भन्नुभयो, “गत उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १बाट निर्वाचित भएपछि जनताको मसँग धेरै अपेक्षा थियो, सांसदको मूल काम देश बनाउने हो, कानुन बनाउने हो । थिति बसाल्न तपाइहरूले पठाउनुभएको हो भनेर सबैलाई सम्झाएको थिएँ ।”
साना तिना काम गर्न स्थानीय तह छन् भन्ने जनतामा बुझाउन लागेको बताउँदै उहाँले आफू सांसद हुँदा इमानदार प्रयास गरेको उल्लेख गर्नुभयो । दमौली खानेपानी उपभोक्ता संस्थाबाट सहयोगको आग्रह गरिएपनि विगतमा सरकारमा नहुँदा बजेट राख्न नसकिएको वाग्लेको भनाइ थियो । उहाँले भन्नुभयो, “खानेपानी जस्तो संवेदनशील विषयमा विगतमा पनि सहयोगको आग्रह गर्नुभएको थियो, सांसदको एक सुको पनि बजेट थिएन । निजी सहयोगकर्ता, दानवीर खोज्दै जाँदा केही सहयोग गर्न सक्यौँ ।”
संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठले तीन हजार ८०० निजी धाराबाट २५ हजार बढी जनसङ्ख्याले खानेपानी सुविधा पाइरहेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्