तपाईँ सुन्दै हुनुहुन्छः

गोरखाका नेवार समुदायले कात्तिक शुल्क पूर्णिमाका दिन मकै सुकाउने पर्व मनाए

गोरखा । कात्तिक शुल्क पूर्णिमाका दिनको अवसर पारेर गोरखाको ठूलो आँगनमा मकै सुकाउने पर्व मनाइएको छ । विगत पाँच वर्षदेखि गोरखाका नेवार समुदायले सामूहिक र घर घरमा मकै सुकाउने पर्व मनाउन थालेका छन् ।

बुधबार राती गोरखा नगरपालिका वडा नम्बर ६ स्थित ठुलो आँगनमा नेवार समुदायका महिला देखि बृद्धबृद्धासम्मको सहभागितामा विभिन्न थरीका अन्न विशेष गरी मकै, गहुँ, चामल, केराउ, सिमी लगायत अन्नबालीलाई चन्द्रमाको उज्यालोमा सुकाएर यस बर्ष पर्व मनाइएको थियो ।

नेवार समुदायको धार्मिक र सांस्कृतिक विश्वास अनुसार कात्तिक शुल्क पूर्णिमाको उज्यालो रातमा अमृत वर्षा हुने जनविश्वास रहिआएको वडा नम्बर ६ का वडा अध्यक्ष राजेन्द्रबाबु जोशीले बताउनुभयो । रातमा चन्द्रामाको उज्यालोमा सुकाइएका अन्नलाई ‘अमृत समान’ मानिएकाले उज्यालो रातीमा सुकाइएका अन्न सेवन गरेमा रोग नलाग्ने, शरीरमा स्फूर्ति बढ्ने र पाचन प्रणाली सबल हुने विश्वास रही आएको छ ।

यस चाडपर्वको अवसरमा स्थानीय युवायुवती र बृद्धाबृद्धाले भजन, नेवारी धिमे बाजाका तालमा नृत्य र चुट्का नाच प्रस्तुत गरी पर्बलाई झन् मनोरञ्जन बनाएका थिए । महिलाहरूले परम्परागत पोशाकमा सजिएर घर घरमा तयार पारेको प्रसाद र मिठा परिकारलाई वितरण गरी वातावरण भक्तिभाब र उल्लासको सम्मिश्रण झल्किएको थियो ।

पर्वलाई प्रचारप्रसार गर्न ऐतिहासिक संरक्षण क्षेत्र तथा बिकास समितिको आयोजना कार्यक्रम हुने गरेको छ । समितिका अध्यक्ष सुरेशमान श्रेष्ठका अनुसार ‘यस पर्वले नेवार समुदायको पुरानो परम्परा जोगाउनुका साथै, युवापुस्तामा संस्कृति प्रति गर्व र पहिचान जागृत गराउने कार्य गर्दै आएको बताउनुभयो । मकै सुकाउने पर्वमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, विभिन्न संघसस्थाका प्रतिनिधीहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रमको अन्त्यमा सुकाइएका अन्नहरू चन्द्रमाको उज्यालोमा प्रसादको रुपमा राखी भक्तजनहरूमा बाँडिएको थियो ।

संस्कृति र आस्थाको सुन्दर सङ्गमको रुपमा परिचित यस पर्बले गोरखाको नेवार समुदायमा एकता, परम्परा र आस्थाको उज्यालो फैलाउने काम गरेको अर्का स्थानीय लालप्रसाद श्रेष्ठले बताउनुभयो । पर्वका अवसरमा विदेशी पाहुनाहरूलाई समेत स्वागत गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button