परासीलाई डुबानबाट जोगाउन झरही खोलामा तटबन्ध निर्माण हुने
नवलपरास। पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित झरही खोला किनारका जोखिम क्षेत्रहरूमा तटबन्ध निर्माण गरिने भएको छ। यसका लागि रामग्राम नगरपालिकाले जोखिम क्षेत्र पहिचान गरी दीर्घकालीन बाढी नियन्त्रण योजना अघि सारेको छ।
नगरपालिकाले झरही पुलदेखि सन्डासम्मको क्षेत्रमा तटबन्धसहित करिडोर निर्माण गर्ने तयारी गरेको छ। संघीय, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा झन्डै दुई करोड रुपैयाँ बजेट सुनिश्चित भएको नगरप्रमुख धनपत यादवले जानकारी दिनुभयो ।
उहाका अनुसार, खोलाले कटान गरेको र बढी क्षति पुग्ने क्षेत्रबाट काम थालनी गरिनेछ। ‘पहिले अस्थायी बाँध र सफाइ गरेर रोकथामको प्रयास गरेका थियौं, तर त्यो दीर्घकालीन समाधान होइन,’ नगरप्रमुख यादवले भनुभयो , ‘अब बलियो तटबन्ध निर्माण गरेर करिडोर र सौन्दर्यकरणको काम गर्ने योजना छ।’
चार वर्षअघि झरही खोलामा आएको बाढीले परासी बजार जलमग्न हुँदा करोडौंको क्षति भएको थियो। त्यसयता स्थानीयवासीले स्थायी तटबन्ध निर्माणको माग गर्दै आएका छन्। नगरपालिकाले आन्तरिक स्रोतबाट अस्थायी रोकथामका प्रयास गरे पनि स्थायी समाधानका लागि यो योजना अघि बढाइएको हो।








प्रतिक्रिया राख्नुहोस्