तपाईँ सुन्दै हुनुहुन्छः

१४ वर्षदेखि अलपत्र मानमत–कलैया–मटिअर्वा हुलाकी सडक खण्डको निर्माण पुनः सुरु

वीरगञ्ज। तराई मधेसको लाईफ लाइनको रूपमा रहेको हुलाकी सडक आयोजना अन्तर्गत बाराको कलैया बजार क्षेत्रमा १४ वर्षदेखि अलपत्र साढे तीन किलोमिटर मानमत–कलैया–मटिअर्वा सडक खण्डको निर्माण कार्य पुनः सुरु भएको छ । 

निर्माणको जिम्मा पाएको ठेकेदारले आइतबारदेखि कलैया उपमहानगरपालिका–१ को तीनकुने चोकबाट सडक खण्डको अधुरो  निर्माण कार्य पुन ः सुरु गरेको छ । 

भारतको दशगजा नाका र पूर्व–पश्चिम राजमार्गलाई सिधै जोड्ने भएकाले व्यापारिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिने सडक निर्माण नहुँदा स्थानीय बासिन्दा र व्यवसायीले ठुलो सास्ती खेपिरहेका थिए ।

सडक निर्माण नहुँदा गर्मीमा धुलो, वर्षामा हिलो र खाल्डाखुल्डीमा जम्मा पानीले यातायात, व्यापार तथा स्वास्थ्यमा गम्भीर असर परेको थियो । कलैयाबाट राजमार्ग पुग्न ३३ किलोमिटर घुमेर वीरगञ्ज–पथलैया हुँदै जानुपर्ने बाध्यता थियो भने वर्षायाममा ठूला दुर्घटना समेत हुने गरेका थिए ।

सडक बारा जिल्लाको प्रमुख राजनीतिक मुद्दा बनेको थियो । डेढ दशकमा सरकार फेरिँदा मन्त्री, सांसद र संसदीय समितिले अनुगमन गरी पटक–पटक आश्वासन दिए पनि निर्माण अघि बढेको थिएन । 

राजनीतिक दलको उदासीनताविरुद्ध स्थानीय स्वतन्त्र युवाहरूले दबाब सिर्जना गर्न हस्ताक्षर अभियान थालेसँगै अहिले सडक निर्माण सुरु भएको हो । 

मानमत–कलैया–मटिअर्वा सडक खण्डको कुल २७ किलोमिटर सडकमध्ये २४ किलोमिटर कालोपत्रे भइसकेको छ तर बाँकी साढे ३ किलोमिटर कलैया बजार क्षेत्रमा अलपत्र छ । २०६८ मा भारतीय कम्पनी भिस्वा कन्स्ट्रक्सनले काम थाल्यो र २३ किलोमिटरपछि रोकिएको थियो । त्यस पश्चात् २०७३ मा ठेक्का लिएको आशीष–डिएस जेभीले पनि काम अधुरै छोडेर गयो । २०७८ पुस २७ मा सप्तकोशी जलाधार–ओम साई एन्ड कम्पनीले ठेक्का पाएदेखि हालसम्म १८ प्रतिशत काम मात्र सम्पन्न गरेको छ । ठेक्का रकम २२ करोड ३१ लाख रहेकोमा ४ करोड १५ लाख भुक्तानी भइसके पनि जिम्मा पाएको निर्माण व्यवसायीले विभिन्न बहाना बनाउँदै काम रोक्ने गरेको छ ।

हुलाकी राजमार्ग निर्देशनालय वीरगन्जले असोज ३१ मा ठेकेदारलाई १५ दिने स्पष्टीकरण माग्दै ठेक्का रद्द गर्ने चेतावनी सँगै स्थानीय युनाहरुको दबाबपछि काम सुरु भएको  आयोजनाका सूचना अधिकारी धर्मेन्द्रकुमार दासले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button