वीरगञ्ज महानगरद्वारा ई–रिक्सा र अटो दर्ता अनिवार्य
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका ई–रिक्सा, अटो रिक्सा तथा अन्य तीन पाङ्ग्रे भाडाका सवारी साधनहरूलाई अनिवार्य रूपमा दर्ता गर्न सूचना जारी गरेको छ ।

नगर कार्यपालिकाको कार्यालयले आज सोमबार सार्वजनिक गरेको सूचनामा सवारी धनीहरूलाई आगामी मङ्सिर ७ गतेभित्र कार्यालयमा रितपूर्वक निवेदन दिई सवारी साधन दर्ता गराउन अनुरोध गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण द्वारा जारी सूचनामा ‘ई–रिक्सा, अटो रिक्सा तथा तीन पाङ्ग्रे भाडाका सवारी साधन दर्ता सम्बन्धी कार्यविधि, २०७६’ बमोजिम दर्ता प्रक्रिया अघि बढाउने उल्लेख गरिएको छ ।
महानगर पालिकाका अनुसार दर्ता नगरेका सवारी साधनहरूलाई रुट इजाजत प्रदान नगरिने र महानगर क्षेत्रभित्र सञ्चालन गर्न अनुमति नदिइने जनाइएको छ ।
सवारी दर्ताका लागि निवेदन दिँदा आवश्यक पर्ने कागजातमा अनुसूची अनुसारको निवेदन फारम, सवारी धनीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, सवारी साधनको ब्लु बुक, सवारी चालक अनुमतिपत्र, सवारी धनी/चालकको पाँच प्रति फोटो र सवारी जाँच पासको प्रतिलिपि संलग्न गर्नुपर्ने जनाइएको छ ।
वीरगन्ज महानगरपालिकाले यसअघि पनि पटक–पटक दर्ताका लागि आह्वान गरेको थियो । यसपटक भने महानगरले अन्तिम म्याद तोकेर कडाइका साथ दर्ता प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्