तपाईँ सुन्दै हुनुहुन्छः

‘भयरहित वातावरण नबनेसम्म एमाले चुनावमा भाग लिँदैन’

उदयपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भयरहित वातावरण नबने सम्म नेकपा एमाले चुनावमा सहभागी नहुने बताउनुभएको छ ।

सोमबार नेकपा एमाले जिल्ला कमिटी उदयपुरले आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता ज्ञवालीले भदौ २३ र २४ गतेको घटनापछि मुलुक निकै ठुलो दलदलमा गुज्रिइरहेको अवस्थामा चुनावमा जान नसकिने बताउनुभयो ।

जनताले आफूलाई सुरक्षित महशुस गरेर कसरी निर्धक्क मतदानमा सहभागी हुन नसक्ने अवस्थामा चुनाव नहुने निष्कर्षसहित एमालेले यथास्थितिमा चुनावमा नजाने निर्णय गरेको उहाँको भनाइ थियो । 

नेता ज्ञवालीले एमालेले संसद् पुनर्स्थापनाको माग फेरी सत्ता र कुर्सीको मोहले गरेको नभएर संविधानतः देशलाई एउटा निकासको बाटोमा लैजान संसद् पुनर्स्थापनाको माग गरेको जिकिर गर्नुभयो । 

नेकपा एमाले उदयपुरले हिजो मात्र जिल्ला कमिटीको आठौँ विस्तारित बैठक सम्पन्न गरेको थियो । कमिटीले २०४६ साल यता पार्टीबाट राज्यको विभिन्न निकायमा विभिन्न जिम्मेवारीमा पुगेका नेताहरूको सम्पत्ति छानविन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको थियो । 

झन्डै ५ सय भन्दा बढी नेता तथा कार्यकर्ताको उपस्थितिमा एमाले उदयपुरले बृहत् कार्यकर्ता भेला सम्पन्न गरेको एमाले उदयपुरका सचिव टेकबहादुर राउतले जानकारी दिनुभयो । भेलामा नेकपा एकीकृत समाजवादीका नेताहरू पुनः एमालेमा फर्किएका थिए । उनीहरुलाई एमाले कोशीका इन्चार्ज शेरधन राईले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button