तपाईँ सुन्दै हुनुहुन्छः

श्रमदानबाट उठ्दै जीर्ण विद्यालय भवन 

सल्यान। निकै जीर्ण अवस्थामा रहेको सल्यानको शारदा नगरपालिका ११ तल्लो स्यालामा रहेको बालकल्याण आधारभूत विद्यालय भवन श्रमदान मार्फत पुनः निर्माण थालिएको छ । 

शारदा नगरपालिका, जिल्ला प्रहरी कार्यालय र स्थानीयको श्रमदानबाट जीर्ण विद्यालयले पुन:जीवन पाउन थालेको हो । २०६३ मा स्थापना भएको विद्यालयको भवन जीर्ण हुँदा अभिभावकहरूले आफ्ना सन्तानलाई विद्यालय पठाउने हिचकिचाउँथे । विद्यालय भवन जीर्ण हुँदा पानी परेको दिन खिया लागेर गलेका जस्तापाता खसेर विद्यार्थीलाई चोट लाग्छ की भन्ने डर हुने गरेको विद्यालयका प्रधानाध्यापक सुमन घिमिरेले बताउनु भयो । 

भवन जीर्ण भएपछि श्रमदानबाट नै पाँच कोठे भवनको पुन निर्माण थालिएको छ । यसै महिना भवनको काम सक्ने गरी काम भइरहेको शारदा नगरपालिकाका प्रवक्ता तथा ११ न वडाध्यक्ष राजेश कुमार शर्माले जानकारी दिनु भयो । उहाँका अनुसार निर्माण सामाग्रीहरू, झ्याल, ढोका, सिमेन्ट, बालुवा तथा जस्तापाता लगायतका निर्माण सामाग्री नगरपालिकाले खरिद गरेको छ । जनप्रतिनिधि, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयले श्रमदान मार्फत भवन निर्माणको कार्य गरी रहेका छन् । विद्यालय भवन निर्माणको ३० प्रतिशत काम सकिएको नगरपालिकाले जनाएको छ । 

विद्यालयमा १४ विद्यार्थीले अध्ययन गरी रहेका छन् । बालविकासमा ६ जना, कक्षा १ मा ३ जना, कक्षा २ मा १ जना र कक्षा ३ मा २ जना विद्यार्थी अध्ययनरत रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button