भ्रष्टाचारमुक्त प्रशासन र सुशासन पहिलो प्राथमिकता : मुख्यमन्त्री सोनल
बारा । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश सरकार सुशासन र पारदर्शी प्रशासन स्थापनामा दृढ रहेको बताउनुभएको छ ।

बाराको सिमरामा आयोजित सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको २३औँ साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै उहाँले कुशासन र बेथितिलाई अन्त्य गर्दै भ्रष्टाचारमुक्त शासन प्रणाली निर्माणमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
उहाँले ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने सन्देश स्मरण गर्दै देश र प्रदेशको माटोप्रति गर्व गर्न सबैलाई आग्रह गर्नुभयो । “जेनजी पुस्ताका युवाहरूले समेत आन्दोलनमार्फत आफ्नो विचार अभिव्यक्त गरिरहेका छन्, जसले परिवर्तनप्रतिको चेतना बढेको सङ्केत गर्छ,” उहाँले भन्नुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नै गरिब र निमुखा जनताको हितका लागि उपयुक्त प्रणाली भएको बताउँदै उहाँले संविधान, नेतृत्व र प्रशासनिक संरचनामा कमजोरी भए पनि सुधारका माध्यमबाट अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष काशिम हुसेनको अध्यक्षतामा भएको कार्यक्रममा बारा क्षेत्र नं.४(क) बाट निर्वाचित प्रदेश सभा सदस्य देवनारायण चौधरी ,जीतपुरसिमरा उपमहानगरपालिकाका उप प्रमुख भोला प्रसाद अधिकारी लगायत विभिन्न राजनीतिक दलका व्यक्तिहरू र उपभोक्ताहरूको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्