निरन्तर वर्षातले भोजपुरका अधिकांश ग्रामीण सडक अवरुद्ध
भोजपुर । मङ्गलवारबाट निरन्तर परेको वर्षातका कारण भोजपुर जिल्लाको अधिकांश ग्रामीण सडकहरू अवरुद्ध भएका छन् । कच्ची सडकहरू हिलाम्य बनेपछि यातायात सञ्चालनमा समस्या उत्पन्न भएको हो ।
सडक अवरुद्ध हुँदा सुत्केरी, गर्भवती, आकस्मिक बिरामी र विपद्मा परेकाहरूलाई आवत–जावतमा कठिनाइ भइरहेको स्थानीयले बताएका छन् । यातायात ठप्प भएपछि दैनिक उपभोग्य सामग्रीको ढुवानी र बजार आपूर्तिसमेत प्रभावित बनेको छ । जिल्ला सदरमुकाम भोजपुरबाट दक्षिणी क्षेत्रका हतुवागढी, रामप्रसादराई र आमचोक गाउँपालिका तर्फ पनि सडकहरू अवरुद्ध हुँदा सहज यातायात सञ्चालन गर्न नसकिएको स्थानीय बासिन्दाले बताएका छन् । त्यस्तै, उत्तरी क्षेत्रतर्फका षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने भोजपुर–दिंला मुख्य सडक वर्षातले हिलाम्य भएपछि यात्रुवाहक तथा मालवाहक सवारी साधन सञ्चालनमा समस्या देखिएको छ ।
अरुण, पौवादुङमा, टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाका केन्द्रसम्मको मध्यपहाडी लोकमार्ग कालोपत्रे भएकाले केही सहजता रहेको छ । निरन्तर वर्षातका कारण विभिन्न स्थानमा पहिरो खस्ने र सडक भासिने सम्भावना रहेकोले सचेत रहन जिल्ला प्रहरी कार्यालयले अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय भोजपुरले सूचना जारी गर्दै अत्यावश्यक काम बाहेक हिँडडुल नगर्न र सम्भावित जोखिम क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्