झाडापखालाका कारण सप्तरीमा एक हप्तामा एकै परिवारका तीन जनाको मृत्यु
सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा झाडापखालाका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
झाडापखालाका कारण एक हप्तामा छिन्नमस्ता गाउँपालिका वडा नं.५ लोखरम मुसहरी टोलमा एकै परिवारका तीन जनाको मृत्यु भएको हो।
मृत्यु हुनेहरूमा एक वर्षीय सञ्जीव सदा, चार वर्षीय रागिनी सदा र ७० वर्षीय लक्ष्मण सदा रहेका छन्। स्थानीय बासिन्दाका अनुसार मृतक सबै एउटै परिवारका सदस्य हुन्, जसमा दुई जना बालबालिका र एक जना वृद्ध रहेका छन्।
स्थानीयका अनुसार तीनै जनामा उच्च ज्वरो आउने र लगातार पखाला लाग्ने लक्षण देखिएको थियो। समयमै स्वास्थ्य उपचार नपाउँदा उनीहरूको ज्यान गएको हो। झाडापखालाको प्रकोप फैलिँदै जाँदा गाउँमा हाल झाडापखालाका थप बिरामी पनि देखिन थालेका छन्।
स्थानीयले बताएअनुसार यहाँ हालसम्म १५ जनाभन्दा बढी बिरामीमा झाडापखालाको लक्षण देखिएको छ।
वडा नं. ५ का वडाध्यक्ष जयप्रकाश ठाकुरका अनुसार घटनाबारे जानकारी प्राप्त भएपछि तत्काल पहल थालिएको छ । स्थानीय स्वास्थ्य चौकीका कर्मचारीहरूलाई औषधि र उपचारका लागि खटाइएको छ, रोग फैलिन नदिनका लागि स्थानीय सरकार सक्रिय छ ।
यहाँ स्वच्छ खानेपानी र सरसफाइको अभाव, साथै बर्खायामको फोहोर पानीका कारण रोग फैलिएको हुन सक्ने आशंका गरिएको छ। स्वास्थ्य विज्ञहरूले दूषित पानीको परीक्षण गर्न र प्रभावित क्षेत्रको तत्काल सरसफाइ अभियान सञ्चालन गर्न सुझाव दिएका छन्।








प्रतिक्रिया राख्नुहोस्