जाँचबुझ आयोगले निष्पक्ष र निर्भिक भएर काम गर्छ : प्रवक्ता शर्मा
नेपालगन्ज । जेन–जी आन्दोलनका क्रममा भएको भौतिक एवम् मानवीय क्षतिको यथार्थ छानबिनका लागि गठित जाँचबुझ आयोगका सदस्य एवम् प्रवक्ता विज्ञान राज शर्माले निष्पक्ष र निर्भिक रूपमा प्रतिवेदन तयार पारिने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना, निजी घर एवम् प्रतिष्ठानमा भएको क्षतिको स्थलगत अध्ययन तथा सरोकारवालासँग छलफलका लागि बाँके आउनुभएका शर्माले आज नेपालगन्जमा आयोजित कार्यक्रममा आयोगले कुनै पूर्वाग्रह नराखी प्रतिवेदन बुझाउने बताउनुभयो । उहाँले फौजदारी अपराधमा प्रहरीलाई अनुसन्धान र कारबाही गर्ने अधिकार यथावत् रहेको स्पष्ट पार्दै भन्नुभयो, “आयोगले कारबाही गर्ने होइन, केवल घटनाको यथार्थ अवस्थाबारे सरकारलाई जानकारी दिने हो।” आपराधिक घटनाको अनुसन्धान र अभियोजन गर्न कुनै रोकटोक नरहेको उहाँले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले आन्दोलनका नाममा अराजक समूहले सरकारी संरचना र आफ्नो निजी घरमा समेत तोडफोड र आगजनी गरेको बताउनुभयो । उहाँले घटनालाई अपराधका रूपमा गम्भीरतापूर्वक लिन आग्रह गर्नुभयो । उद्दण्डता मच्चाउनेहरूलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुनेमा आचार्यको जोड छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले आगजनी र लुटपाटमा संलग्नहरूको पहिचान गरी कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागीले विगतका आयोगका प्रतिवेदन कार्यान्वयन नभएकाले यसपटक पनि त्यस्तै हुने हो कि भन्ने आशङ्का व्यक्त गरेका छन् । उनीहरूले घटनामा संलग्नलाई कानूनी कारबाही गर्न आयोग र सरकार गम्भीर हुनुपर्ने माग गरे ।
कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेशका सदस्य घननाथ खनाल, काँग्रेस बाँकेका सचिव सुधांशु कोइराला, जिल्ला समन्वय समिति संयोजक ज्ञानेन्द्र कुमार चौधरी, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसी, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, उच्च अदालत नेपालगन्ज बारका अध्यक्ष चित्र बहादुर शाही, इन्सेक लुम्बिनी संयोजक भोला महत, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।
त्यसक्रममा आगजनी र तोडफोड गरिएका सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिले कार्यालयको क्षति र अहिलेको सेवा प्रवाहको अवस्थाबारे जानकारी गराएका थिए । जिल्ला प्रशासन कार्यालय बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी पूर्ण खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्