मधेश प्रदेशका मुख्यमन्त्री सोनलले कार्तिक २२ गते विश्वासको मत लिने
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले कात्तिक २२ गते प्रदेशसभाबाट विश्वासको मत लिने निर्णय गर्नुभएको छ।

सात दलको बैठकले सो मितिमा विश्वासको मत लिने निर्णय गरेपछि मुख्यमन्त्री सोनलले विभिन्न राजनीतिक दलका नेतासँग भेटघाट र परामर्शलाई तीव्र बनाएका छन्।
मुख्यमन्त्री सोनलले विश्वासको मत लिएपछि मात्र मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ। उहाँले विश्वास मतका लागि नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरूसँग भेटघाट गरी समर्थनका लागि आग्रह सुरु गर्नुभएको छ ।
सोनल ५ दलका ५६ जना प्रदेशसभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। अहिले उहाँको नेतृत्वको सरकारलाई नागरिक उन्मुक्ति पार्टी र रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले पनि समर्थन जनाएका छन्।
पाँच दलका अतिरिक्त थप दुई दलले समर्थन गरेपछि अहिले सोनल सरकारलाई ५७ जना प्रदेशसभा सदस्यहरूको समर्थन प्राप्त भएको छ।
प्रदेशसभामा कुल १०७ सदस्य मध्ये हाल १०४ जना सदस्य पदमा कायम छन्। बहुमतका लागि ५३ जना सदस्यको समर्थन आवश्यक पर्नेमा सोनल सरकारले आवश्यक समर्थन जुटाइसकेको देखिन्छ।
हाल सोनल नेतृत्वको सरकारलाई समर्थन जनाउने दलहरू यस प्रकार छन्:
जसपा नेपाल — १८ जना
जनमत पार्टी — १३ जना
माओवादी केन्द्र — ९ जना
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) — ८ जना
नेकपा (एकीकृत समाजवादी) — ७ जना
नागरिक उन्मुक्ति पार्टी — १ जना
नेपाल संघीय समाजवादी पार्टी — १ जना
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले गत असोज २९ गते सोनललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। त्यसको भोलिपल्ट अर्थात् असोज ३० गते, जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादव र नेकपा (एकीकृत समाजवादी) का कनिऊ पट्टेललाई सोनलले विना विभागीय मन्त्री नियुक्त गर्नुभएको थियो।







प्रतिक्रिया राख्नुहोस्