लुक्ला विमानस्थलमा उडान ठप्प हुँदा पर्यटक मारमा

सोलुखुम्बु । पछिल्लो दुई दिन यता परेको हिमपात र प्रतिकूल मौसमका कारण सोलुखुम्बुको अति व्यस्त तेन्जिङ हिलारी विमानस्थल लुक्ला विमानस्थलमा हवाई सेवा पूर्ण रूपमा ठप्प हुँदा स्वदेशी तथा विदेशी पर्यटकहरू मारमा परेका छन् ।
बिहीबार बिहान केही समय मौसम खुल्दा हेलिकप्टरहरूको आंशिक उडान भएपनि कुनै पनि विमानले नियमित उडान वा अवतरण गर्न नसकेको तेन्जिङ हिलारी विमानस्थल लुक्ला विमानस्थलका सिनियर एटिसी अफिसर अमनचन्द्र झाले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहानैदेखि आकाशमा बाक्लो बादल भएको कारण उडान गर्न असम्भव बनेको हो । केही घण्टा मौसम अनुकूल भएसम्म करिब ६० भन्दा बढी हेलिकप्टरले उडान तथा अवतरण गरेका छन् । बुधवार लुबुचेमा हेलिकप्टर दुर्घटना भएपछि लुक्ला भन्दा माथि हेलिकप्टर उडानमा रोक लगाएकोमा बिहीबार भने मौसम हेरेर केही उडान भएको उहाँले बताउनुभयो ।
लुक्ला क्षेत्रमा हिजोदेखि नै निरन्तर मौसममा फेरबदल भइरहेको जनाइएको छ । मौसममा फेरबदल भइरहेकाले तत्काल उडान सुचारु हुने सम्भावना न्यून रहेको बताइएको छ । मौसम प्रतिकूलताका बाबजुद पनि बुधवार विभिन्न विमान कम्पनीहरूले २० वटा उडान गरेका गरेका थिए भने ८० भन्दा बढी हेलिकप्टरले उडान भरेका थिए ।
यस सिजनमा लुक्ला विमानस्थलमा करिब तीनको हाराहारीमा उडान तथा अवतरण हुने गरेको अफिसर झाले बताउनुभयो । हिमाल आरोहण तथा पर्यटन सिजन चलिरहेको बेला हवाई सेवा अवरुद्ध भएपछि लुक्ला र काठमाडौँबाट आउने र जाने दुवैतिरका पर्यटक तथा अन्य यात्रुहरू समस्यामा परेका छन् । लुक्लामा मौसममा सुधार आउला र काठमाडौँ जान पाइएला भनेर विमान कुरेर यात्रुहरू बसिरहेको बताइएको छ ।
तत्काल मौसममा सुधार हुने अवस्था नदेखिएपछि कतिपय यात्रुहरू पैदल मार्फत सदरमुकाम सल्लेरी हुँदै सडक मार्गबाट गन्तव्य तय गरेका छन् । लुक्लामा तारा एयर, सीता एयरलाइन्स र समिट एयर तथा विभिन्न हेलिकप्टर कम्पनीले उडान गर्ने गरेका छन् ।
विमानस्थलमा भिजिबिलिटी अत्यन्त न्युन रहेकोले हवाईजहाज तथा हेलिकप्टर उडान तथा अवतरण हुन नसकेको हो । विमानस्थल वरपरको भिजिबिलिटी ५० मिटर भन्दा तल रहेको छ । जसलाई उडान क्षेत्रमा निल मानिन्छ । उडानका लागि कम्तीमा पाँच किलोमिटर भिजिबिलिटी आवश्यक पर्दछ । मौसम अनुकूल भएसँगै नियमित उडान पुनः सुरु गरिने विमानस्थल कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्