तपाईँ सुन्दै हुनुहुन्छः

भारी वर्षाको सम्भावनाका कारण सतर्कता अपनाउन पाख्रिबासका विद्यालय ४ दिन बन्द

धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले जिल्लावासीलाई कात्तिक बिहीबार देखि शनिबारसम्म  विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । 

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार यस अवधिमा धनकुटासहित देशका धेरै स्थानमा भारी वर्षा तथा उच्च पहाडमा हिमपातको सम्भावना रहेको हुँदा सम्भावित प्राकृतिक बिपद्बाट जोगिन प्रशासनले सचेत रहन आग्रह गरेको हो ।

प्रशासनले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, पहिरो वा डुबान जोखिम क्षेत्रका बासिन्दाले सुरक्षित स्थानको पहिचान राख्न तथा आवश्यक परेमा तत्काल सर्ने तयारी गर्न अनुरोध गरेको छ । त्यस्तै, सडक अवरुद्ध हुने अवस्था आउन सक्ने भएकाले तत्काल प्रयोग गर्न मिल्ने गरी डोजर, लोडर लगायतका उपकरण तयारी अवस्थामा राख्न र साझेदार निकाय तथा संस्थालाई विपद् व्यवस्थापन समितिको सम्पर्कमा रहन आग्रह गरिएको प्रशासकीय अधिकृत रामजी पौडेलले जानकारी दिनुभयो । 

यस्तै धनकुटाको पाख्रीबास नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू कात्तिक १४ गतेदेखि १८ गतेसम्म बन्द हुने भएका छन् । जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार बंगालको खाडीमा विकसित मोन्था चक्रवातसँगै पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभर केही दिनसम्म भारी वर्षाको सम्भावना औँल्याएको छ। सोही कारण संभावित जोखिमलाई मध्यनजर गर्दै विद्यालयहरू बन्द गर्नुपर्ने आवश्यकता देखिएको नगर प्रमुख ज्ञान बहादुर गुरुङले जानकारी दिनुभयो ।

नगर शिक्षा शाखाले विद्यालय व्यवस्थापन समितिहरूको निर्णय अनुसार स्थानीय विद्यालयहरूमा कात्तिक १४ गतेसम्म १८ गतेसम्म सम्पूर्ण पठनपाठन कार्य बन्द रहने व्यवस्था मिलाउन अनुरोध गरेको छ । नगरपालिकाले अभिभावक र विद्यार्थीलाई सावधानी अपनाउन र जोखिमपूर्ण स्थानमा नजान आग्रह समेत गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button