बाँकेमा पौडी प्रशिक्षक तयार गरिँदै

नेपालगञ्ज । बाँकेमा पौडी प्रशिक्षक तयार गर्न लागिएको छ । यही कार्तिक १४ र १५ गते नेपालगञ्ज रंगशाला परिसरको पौडी पोखरीमा आयोजना हुने दोस्रो नेपालगञ्ज नेशनल स्विमिङ च्याम्पियनसीपको पूर्व सन्ध्यामा २५ जना पौडी प्रशिक्षक तयार गर्न लागिएको हो । नेपालगञ्ज स्विमिङ क्लबले प्रशिक्षक तयार गर्दैछ । नेपाल पौडी संघका प्राविधिक प्रतिनिधि विष्णु खड्का, अनिष महर्जन र दीपक सागर सिंह सहितको टोलीले बुधबारदेखि दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको क्लबका अध्यक्ष केशब न्यौपानेले बताउनुभयो ।
अहिले बाँकेमा चन्दुराम चौधरी, दीपक परियारसहित आधा दर्जनको हाराहारीमा मात्र पौडी प्रशिक्षक रहेको बताइएको छ । नेपालगञ्जमा आधा दर्जन भन्दा बढी पौडी पोखरी भए पनि प्रशिक्षक विहीन नै छन् । पौडी प्रशिक्षकहरूले बुधबार बाँकेका पत्रकारलाई पनि पौडी खेलबारे अभिमुखीकरण गरेका थिए । जसबाट पत्रकारलाई पौडी खेलको समाचार लेखनमा सहजता हुने विश्वास लिइएको छ ।
कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारी, उपाध्यक्ष डा। नितेश कुमार कनोडियाले प्रतियोगिताको तयारी र प्रशिक्षण कार्यक्रमबारे जानकारी दिनुभएको थियो । प्रतियोगितामा ८, १०, १२, १४, १७ मुनी र खुला समूह गरी विभिन्न उमेरका खेलाडीबीच २५ मिटरदेखि ४०० मिटरको दूरीमा ५६ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा देशभरका दुई सय भन्दा बढी खेलाडी सहभागी हुने आयोजकले जनाएको छ ।
				

					
					





प्रतिक्रिया राख्नुहोस्